गठबन्धन बिनाको चुनाव: लमजुङमा कसको पकड बलियो? 

1.32k
Shares

लमजुङ। 

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लमजुङमा आसन्न निर्वाचन नजिकिँदै जाँदा चुनावी माहौल तातेको छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय भएसँगै जिल्लाभर चुनावी सरगर्मी बढेको हो ।

पछिल्लो प्रतिनिधि सभा निर्वाचनको मत परिणाम हेर्दा लमजुङमा यसपटक पनि नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि, नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि देशव्यापी माहोललाई आधार बनाउँदै आफूलाई मुख्य प्रतिस्पर्धीका रुपमा प्रस्तुत गरेको छ ।

नेकपा एमालेका तर्फबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुव्वा गुरुङ चुनावी मैदानमा छन् । पार्टीको बलियो जनाधार रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा जित सुनिश्चित हुने बताउँदै आएका छन् । अघिल्लो निर्वाचनमा एमालेले समानुपातिकतर्फ ३१ हजार एक सय ७८ मत प्राप्त गरेको थियो ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले पनि पार्टीभित्र एकता कायम भएको र आफू साझा उम्मेदवारका रुपमा अघि बढेको बताएका छन् । गत निर्वाचनमा काँग्रेसले समानुपातिकतर्फ २७ हजार सात सय ९६ मत ल्याएको थियो ।

नयाँ राजनीतिक शक्तिका रुपमा रास्वपाले पुराना दलप्रति जनतामा बढ्दो असन्तुष्टिलाई आफ्नो आधार बनाएको छ । संगठन सबै तहमा नपुगेको स्वीकार गर्दै काँग्रेस र एमालेका मत आफू तिर आउने दाबी रास्वपाको छ । अघिल्लो निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ आठ हजार दुई सय १७ मत पाएको थियो ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हरिजंग तामाङ उम्मेदवार बन्नु भएको छ । युवा नेतृत्वको आवश्यकता रहेको भन्दै नेकपाले पनि निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरेको छ । अघिल्लो निर्वाचनमा नेकपाले समानुपातिकतर्फ ६ हजार चार सय ८३ मत ल्याएको थियो ।

यसपटक विगतका निर्वाचनहरुमा जस्तो दलहरुबीच गठबन्धन नभएकाले सबै दल एक्लाएक्लै मैदानमा उत्रिएका छन् । गठबन्धनविनाको प्रतिस्पर्धाले दलहरुको वास्तविक प्रभाव कति छ भन्ने स्पष्ट हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

परम्परागत रुपमा काँग्रेस र एमालेको प्रभाव बलियो मानिँदै आएको लमजुङमा नयाँ राजनीतिक लहरले पुराना समीकरणहरु बदलिने हो कि भन्ने चासो बढेको छ । यद्यपि, धेरै मतदाताहरु भने अन्ततः प्रतिस्पर्धा पुरानै ठूला दलहरुबीच हुने अनुमान गरिरहेका छन् ।