एमाले उदयपुरद्वारा निर्वाचनका लागि १० बुँदे आचारसंहिता जारी

470
Shares

उदयपुर ।

नेकपा (एमाले) उदयपुर निर्वाचन क्षेत्र नम्बर १ ले आगामी  फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै १० बुँदे आचारसंहिता सार्वजनिक गरेको छ।

 नेकपा एमालेका सूर्य ध्वजा वाहक उम्मेदवार दुर्गा कुमार थापा (स्वस्ति) र निर्वाचन परिचालन समितिका संयोजक ईश्वरमणि राउतले आचार संहिता सार्वजनिक गरेका हुन  ।

जनताको प्रिय पार्टीका रूपमा परिचित नेकपा (एमाले) ले निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाउँदै शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न होस् भन्ने उद्देश्यले आचारसंहिता लागू गरेको जनाएको छ ।

पार्टीले जारी गरेको विज्ञप्तिमा उम्मेदवार तथा सम्पूर्ण पार्टी पंक्तिले नैतिक बन्धनका रूपमा अनिवार्य रूपमा पालना गर्ने गरी आचारसंहिता जारी गरिएको उल्लेख छ । आचारसंहिताअनुसार एमालेले निर्वाचन आयोगद्वारा जारी सम्पूर्ण नियम र मापदण्डको पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

आचारसंहितामा निर्वाचन अभियानलाई अनुशासित र मर्यादित ढंगले सञ्चालन गर्ने, अन्य दल वा स्वतन्त्र उम्मेदवारका कार्यक्रमसँग जुधाउने कार्य नगर्ने तथा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दा अन्य उम्मेदवार वा नेतामाथि आक्षेप नलगाउने उल्लेख छ ।

यसैगरी निर्वाचनका क्रममा बालबालिकाको प्रयोग नगर्ने, ‘बालबालिका शान्ति क्षेत्र हुन्’ भन्ने मान्यताको सम्मान गर्दै विद्यालयमा कुनै कार्यक्रम नगर्ने, लैङ्गिक हिंसा हुने वा अपमानजनक शब्द प्रयोग नगर्ने प्रतिबद्धता गरिएको छ ।

एमालेले आफ्ना सबै कार्यक्रम स्थानीय प्रशासनको अनुमतिमा मात्र सञ्चालन गर्ने, सामाजिक, सांस्कृतिक तथा धार्मिक सहिष्णुता कायम राख्ने र सदाचारको पूर्ण पालना गर्ने जनाएको छ ।