काभ्रे।
धुलिखेल नगरपालिकालाई इलेक्ट्रोनिक शासन (Electronic Governance) को नमुना बनाउने अभियानमा एउटा नयाँ इँटा थपिएको छ ।
नेपालकै अग्रणी एआई कम्पनी टिङ टिङ (Ting Ting ) सँगको सहकार्यमा गत भाद्र २०८२ देखि सुरु गरिएको One Way AI प्रणाली हालै दुई–तर्फी संवादात्मक एआई ’टिङ टिङ एजेन्ट’ (Ting Ting Agent ) सफलताका साथ सञ्चालनमा ल्याएको हो ।
धुलिखेल आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी नागरिकसँग प्रत्यक्ष संवाद गर्ने नेपालकै पहिलो स्थानीय तहमध्ये एक बनेको छ । यसले धुलिखेल नगरपालिकाको आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोगी सिद्ध हुनेछ । धुलिखेल नगरपालिकामा यो अत्याधुनिक एआई प्रविधि भित्र्याउन निवर्तमान नगर प्रमुख एवं काभ्रे क्षेत्र नम्वर २ का उम्मेदवार अशोक ब्याञ्जुको अतुलनीय योगदान र विशेष सक्रियता रहेको छ । ‘नागरिकका लागि प्रविधि र सुशासनका लागि डिजिटल प्रणाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै निवर्तमान प्रमुख ब्याञ्जुले नगरपालिकाको प्रशासनिक कार्यलाई झन्झटमुक्त बनाउन निरन्तर पहल गर्दै आएका थिए । प्रविधिको प्रयोगबाट नागरिकलाई छिटो–छरितो जानकारी र सेवा प्रदान गर्नुपर्छ भन्ने दृढ प्रतिबद्धताकै कारण धुलिखेल डिजिटल रूपान्तरणको नेतृत्वदायी भूमिकामा देखिएको हो । धुलिखेलको ‘स्मार्ट सिटी’को सपनालाई साकार पार्ने दिशामा एआई एजेन्ट एउटा उपयुक्त कदम सावित भएको बताईएको छ ।
’टिङ टिङ एजेन्ट’ एउटा यस्तो अत्याधुनिक दुईतर्फी एआई टेलिफोनी प्रणाली हो जसले नागरिकका जिज्ञासा र समस्याहरूलाई मानिसले जस्तै प्राकृतिक रूपमा सुन्ने र समाधान गर्ने क्षमता राख्छ । धुलिखेल नगरपालिकामा यो प्रणाली लागू भएसँगै नागरिकले झन्झटमुक्त संवादको सुविधा पाउने छन् । नागरिकले फोन गर्दा जानकारी लिन कुनै बटन जस्तै १ वा २ थिच्नु पर्दैन । सिधै आफ्नो समस्या वा जिज्ञासा कल मार्फत एआई एजेन्टलाई स्पष्ट रूपमा राख्न सक्छन् ।
त्यस्तै २४ सै घण्टा ७ दिन नै सेवा प्रवाह हुनेछ । कार्यालय समयभन्दा पछाडि वा सार्वजनिक बिदाको दिनमा पनि नागरिकले नगरपालिकाको सेवा सम्बन्धी जानकारी एआई एजेन्टमार्फत तत्काल प्राप्त गर्न सक्नेछन् । कुशल र प्रभावकारी सेवा मानिएको छ । ‘टिङ टिङ एजेन्ट’ ले सबै सामान्य प्रश्नहरूको जवाफ दिन्छ जसले गर्दा कर्मचारीहरूको कार्यभार कम गर्न मद्दत गर्दछ ताकि उनीहरूले जटिल समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्न सकुन् ।
यसले मानव एजेन्टको धेरै समय बचत हुन्छ । स्थानीय भाषाको पहिचान हुनेछ । टिङ टिङको ‘रिरी’ (Riri ) इन्जिनले स्थानीय भाषालाई दुरुस्तै बुझ्ने भएकाले आम नागरिकलाई मेसिनसँग नभई नगरपालिकाकै सहयोगीसँग कुरा गरिरहेको महसुस हुनेछ । यसको लागि धुलिखेल नगरपालिकाको SHIP LINE Number ०११–५९७०२० मा फोन गरेर आफूलाई आवश्यक परेको सेवा लिनको लागि आवश्यक कागजात लगायतका प्रश्नहरु सोध्न सकिनेछ । पालिकाका सूचना प्रविधि अधिकृत बलराम धिमालका अनुसार यो डिजिटल रूपान्तरणले धुलिखेलका हजारौँ नागरिकलाई प्रशासनिक काममा सहजता प्रदान गर्नेछ । ‘प्रविधि केवल सहरका लागि मात्र होइन, आम नागरिकको जीवन सहज बनाउनका लागि हुनुपर्छ भन्ने दृढ संकल्पलाई टिङ टिङले आफ्नो ‘अन्डरस्ट्यान्डिङ इन्जिन’ मार्फत बलियो साथ दिएको छ ।
यो सहकार्यले नेपालका अन्य स्थानीय निकायहरूका लागि पनि एउटा उत्कृष्ट उदाहरण पेश गरेको छ । पूर्व नगर प्रमुख ब्याञ्जुको नेतृत्वमा धुलिखेल नगरपालिकाले केवल विकास निर्माणमा मात्र नभई, आर्टिफिसियल इन्टेलिजेन्स (AI) को उच्चतम प्रयोग गरी सुशासन कायम गर्ने दिशामा समेत नेपालकै नेतृत्वकर्ता बनेको छ ।











प्रतिक्रिया