काठमाडौं ।
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने प्रस्ट पारेको छ। पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाइसकेको जानकारी दिए।
प्रवक्ता चालिसेले चुनावपूर्व कुनै प्रकारको गठबन्धन नहुने दोहोर्याउँदै पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको बताए।
उनले भने, ‘चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन। सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाइसकेका छौँ। हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि यो विषय सार्वजनिक रूपमा भनिरहनुभएको छ। त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु।’
पत्रकार सम्मेलनमा उनले अधिनायकवाद सधैं मिठा र चिप्ला कुरा गरेर आउने गरेको टिप्पणी गर्दै नयाँ अनुहार र नयाँ नारा भन्दै फैलाइने भ्रममा नपर्न कार्यकर्तासहित आम मतदातालाई सचेत गराए।
कांग्रेसले आफ्नो संगठनात्मक शक्ति, लोकतान्त्रिक मूल्य र विगतको योगदानका आधारमा जनतासँग प्रत्यक्ष अपिल गर्दै चुनावमा होमिएको उनले बताए।











प्रतिक्रिया