नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा


पोखरा।

बंगलादेशविरुद्धको खेलमा ४–० को हार संगै नेपाल साफ अन्डर १९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । बुधबार जित्नै पर्ने दबाबका साथ खेलेको नेपालले लज्जास्पद हार व्यहोरेसंगै साफको यात्रा टुंग्याएको हो ।

पोखरा रंगशाला मैदानमा भएको खेलको सुरुवातमै नेपाल १–० ले पछि परेको थियो । कर्नरबाट आएको बलमा प्रोतिमा मुन्डाले गोल गर्दै अग्रता दिलाइन् । १९ औं मिनेटमा वर्षा ओलीले बराबरी गोल गर्ने अवसर खेर फालिन् । ३२ औं मिनेटमा सिर्जना बडुवालको प्रहार फस्टबार नजिकैबाट बाहिरिदाँ अर्को अवसर खेर गयो ।
पहिलो हाफमा थप गरिएको चार मिनेटमा अल्पि अक्तेरले फ्रिकिकमार्फत बंगलादेशका लागि दोस्रो गोल गरिन् । उनले नेपाल विरुद्ध ह्याट्रिक समेत गरिन् । उनले खेलको ६७ औं र ८२ औं मिनेटमा गोल गरिन् ।

हारसंगै नेपाल बाहिरिएको छ भने बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बुधबार नै भएको अर्को खेलमा भारतले भुटानविरुद्ध ७–० को जित हासिल गर्दै फाइनल प्रवेश गरेको थियो । शनिबार हुने फाइनलमा बंगलादेश र भारत भिड्नेछन् ।

चार राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपका ३ जितसहित कुल ९ अंकका साथ बंगलादेश शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै २ जित १ हार व्यहोरेको भारत ६ अंकका साथ दोस्रो हुँदै फाइनलमा प्रवेश गरेको हो । १ जित २ हारसहित ३ अंक जोडेको नेपाल र ३ खेलमै हार व्यहोरेको भुटान अंकविहिन हुँदै च्याम्पियनसिपबाट बाहिरिए ।

खेल पश्चात प्रतिक्रिया दिदैँ नेपालका प्रशिक्षक सुमन श्रेष्ठले नजिताअनुसार दुःख लाग्दो भएपनि खेलाडीले राम्रो प्रदर्शनी गरेको सुनाए । उनले पहिलो हाफमा दुई वटा गल्तिका कारण पछि पर्दा खेलमा हार व्यहोर्न बाध्य भएको बताए । ‘पहिलो हाफमा हामीले दबाब दिएकै थियौं । कर्नर र फ्रिकिकमा गोल हुनु हाम्रो लागि दुर्भाग्य रह्यो’ उनले भने, ‘नतिजा हेर्दा नराम्रो रहेपनि समग्रमा हाम्रो खेल राम्रो नै रह्यो ।