काठमाडौँ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जाल प्लेटफर्म टिकटकसँग समझदारी आदान–प्रदान गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन टिकटकका प्रतिनिधिसँग बुधबार छलफलपछि औपचारिक समझदारी गरिएको हो।
निर्वाचनलाई प्रभावित पार्न सक्ने भ्रामक सूचना, गलत प्रचार तथा हानिकारक सामग्री नियन्त्रण गर्ने उद्देश्यसहित आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका हेड अफ गभर्मेन्ट रिलेसन्स एन्ड पब्लिक पोलिसी फर्डउस अल मोट्टाकिनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीपत्र आदान–प्रदान कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा, आयोगका सचिव कृष्णबहादुर राउतसहित आयोगका उच्च अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रवक्ता भट्टराईका अनुसार टिकटकले ‘संरक्षण, सशक्तिकरण र साझेदारी’ भन्ने तीन प्रमुख निर्वाचन सदाचार लक्ष्यअन्तर्गत रहेर कुनै शुल्क नलिई आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसअन्तर्गत टिकटकले निर्वाचनसम्बन्धी आधिकारिक सूचना र सन्देशको प्रचार–प्रसार गर्ने, भ्रामक सूचना नियन्त्रणमा सहयोग पुर्याउने, विश्वसनीय तथ्यमा आधारित सामग्री मात्र प्रयोगकर्तासम्म पु¥याउने तथा सुरक्षित डिजिटल वातावरण निर्माणमा साथ दिनेछ।
समझदारीअनुसार टिकटकले प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धन तथा निर्वाचन आयोगको संस्थागत क्षमता अभिवृद्धिका प्रयासमा समेत सहकार्य गर्नेछ।
‘यस साझेदारीले निर्वाचनसम्बन्धी भरपर्दो र विश्वसनीय सूचना सर्वसाधारणको पहुँचमा पुर्याउन सहयोग पुग्ने हाम्रो विश्वास छ,’ भट्टराईले भने, ‘समझदारीपत्रले लोकतान्त्रिक प्रणालीको संस्थागत सुदृढीकरणमा योगदान पुर्याउनुका साथै निर्वाचनलाई असर पार्न सक्ने भ्रामक तथा हानिकारक सामग्री नियन्त्रणका लागि आयोगले गरिरहेका प्रयासलाई थप प्रभावकारी बनाउनेछ।’











प्रतिक्रिया