‘विकासको नाउँमा आदिवासी संस्कृति र सभ्यता धरापमा पार्नुहुँदैन’ उपराष्ट्रपति यादव


काठमाडौं।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकासको नाउँमा आदिवासी जनजातिको सभ्यता, संस्कृति र ऐतिहासिक बस्ती धरापमा पार्न नहुने बताएका छन् ।

आदिवासी जनजाति आयोगको पाँचौ वार्षिकोत्सवमो अवसरमा बुधवार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपालले अवलम्बन गर्ने विकास संस्कृति, सम्पदा र पर्यावरणको दृष्टिले उपयुक्त हुनुपर्ने उनको जोड रहेको छ । राज्यको नीति निर्माणमा सबै भाषाभाषी, जातजातिको सहभागी हुनुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले समावेशी विकास र राज्यमा सबैको पहुँचबाट लोकतन्त्र र न्यायको अनुभूत हुने धारणा राखे ।

सो अवसरमा मातृभाषाको प्रयोग र आदिवासी जनजातिको संस्कृति, भाषा संरक्षणमा उल्लेखनीय कार्य गरे वापत नेपाल खुल्ला विश्वविद्यालय र हलेसी तुवाचुङ नगरपालिकालाई विशेष सम्मान गरिएको थियो ।

सो अवसरमा आदिवासी जनजाति अध्ययन सम्बन्धी विशेष जर्नल लोकार्पण गरिएको थियो ।आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संविधानमा रहेको आदिवासी जनजातिको सामाजिक तथा सांस्कृतिक पहिचान, आर्थिक तथा राजनीतिक अधिकार र विकासको अधिकार विशेषतः धारा५६(५)  को कार्यान्वयन गर्नुपर्ने बताए । सो धारामा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको व्यवस्था गरेको छ। संविधानको यो प्रावधान दशकसम्म पनि निष्क्रिय रहेकोमा उहाँले चिन्ता व्यक्त गरे।