नीति छ, कानुन छः सामुदायिक वनमा युवाको नेतृत्व किन छैन ?


सुर्खेत ।

सामुदायिक वन व्यवस्थापनमा युवाको भूमिकालाई सुदृढ बनाउँदै रणनीतिक ढाँचा तथा कार्ययोजना विकास गर्न सामुदायिक वन, कृषि र उद्यमशीलतासँग जोडिएका सरोकारवालाहरुबीच बुधवार वीरेन्द्रनगरमा छलफल भएको छ । सामुदायिक वन व्यवस्थापनमा युवाको औपचारिक सहभागिता र नेतृत्व सशक्तिकरणलाई संस्थागत गर्ने उद्देश्यले वर्ल्ड फुड फोरम र युवालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी सिमन्त सुनारले आफू आठौं सेमेस्टरमा कृषि अध्ययनरत रहेको उल्लेख गर्दै युवामैत्री वन तथा कृषि योजना आवश्यक रहेको बताए । उनले सामुदायिक वनका कार्यसमिति गठनदेखि कार्यान्वयनसम्म युवाका लागि अवसर सिर्जना गर्न खुला आह्वान मार्फत सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “युवा लक्षित नीति र नियम बनाएर मात्र होइन, व्यवहारमै युवालाई नेतृत्वको अवसर दिनुपर्छ,” उनले भने ।

अन्तरक्रियामा सहभागी अन्य सरोकारवालाले युवाहरूले छिटो परिणाम खोज्ने हतारोका कारण उद्यमशीलता विकास हुन नसकेको धारणा राखे । सामुदायिक वनमा महिला तथा युवा सहभागितासम्बन्धी कानुन प्रशस्त भए पनि कार्यान्वयन कमजोर रहेको उनीहरूको भनाइ थियो । वन क्षेत्रलाई उत्पादनमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने सुझाव पनि दिइयो ।

उद्यम तथा रोजगारी सिर्जनाका लागि कानुनी व्यवस्था भए पनि त्यसअनुसारको सक्रियता नदेखिएको सहभागीहरूको निष्कर्ष थियो । धेरै सामुदायिक वन उपभोक्ता समूहहरू दर्ता र नवीकरणजस्ता आधारभूत प्रक्रियामै उदासीन देखिएको अवस्थामा युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक रहेको उनीहरूले बताए ।

कार्यक्रममा कर्णालीमा उत्पादन हुने टिमुरलाई जाजरकोटलाई पकेट एरियाका रूपमा विकास गरिएको उदाहरण प्रस्तुत गर्दै गत आर्थिक वर्षमा करिब १२ करोड रुपैयाँ बराबरको निर्यात भएको जानकारी दिइयो। यसलाई दीगो बनाउँदै थप सम्भावनाहरूको खोजी गर्न सबैको सहकार्य आवश्यक रहेको धारणा राखियो । साथै कर्णालीमा पाइने चिउरी तथा २५० भन्दा बढी प्रकारका जडिबुटीको संकलन, प्रशोधन र निर्यातमा जोड दिनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव अजित कर्णले हालको वनसम्बन्धी नीति तथा कानुनले दलित, विपन्न, युवा र आम नागरिकबीच कुनै भेदभाव नगरेको स्पष्ट पारे। “वन क्षेत्रलाई उत्पादनमूलक बनाएर व्यवस्थित कार्ययोजना अनुसार उद्यमशीलतामा जोड्न सके ठूलो सम्भावना छ,” उनले भने ।
उनले कर्णाली प्रदेशमा वन क्षेत्र २९ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको उल्लेख गर्दै यसलाई समृद्ध बनाउँदै राज्यको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य युवाले लिनुपर्ने बताए ।