स्याङ्जा।
निर्वाचनका बेला उम्मेदवारहरुले ठूला–ठूला आशा र आकर्षक वाचा बाँड्ने तर निर्वाचन जितेपछि ती आशा निराशामा र वाचा अधुरै रहने गरेको भन्दै स्याङ्जाका मतदाताले गुनासो व्यक्त गरेका छन् । स्याङ्जाको वालिङमा आयोजित मतदाताको प्रश्न–उम्मेदवारको जवाफ कार्यक्रममा मतदाताले विकास, पूर्वाधार, राष्ट्रियता र नेतृत्वको प्रभावकारितामाथि कडा प्रश्न उठाएका हुन् ।
कार्यक्रममा सहभागी मतदाताहरुले विशेषगरी आँधीखोला हाइड्याम र सिद्धार्थ राजमार्गको स्तरोन्नति सधैं चुनावी एजेण्डा मात्रै बन्ने गरेको भन्दै असन्तुष्टि जनाए । यस्ता महत्वपूर्ण विषय चुनावका बेला मात्रै उठ्ने तर कार्यान्वयनमा नजाने प्रवृत्तिका कारण स्याङ्जा जिल्ला तथा यसको प्रमुख व्यापारिक केन्द्र वालिङ विकासको मूल धारबाट ओझेलमा परेको उनीहरुको गुनासो थियो ।
वालिङ–८ का मतदाता प्रकाश अर्यालले हरेक निर्वाचनमा उम्मेदवारहरुले विकासका सपना देखाउने तर परिणाम नआउँदा आम नागरिकमा नैराश्यता बढ्दै गएको बताउनुभयो । “हरेक निर्वाचनमा उम्मेदवारहरुले आशा र वाचा देखाउँछन्, तर ती वाचा पूरा नहुँदा नागरिकमा निराशा छाएको छ,” उहाँले भन्नुभयो, “अब हामीलाई भाषण होइन, परिणाम चाहिएको छ ।” सिद्धार्थ राजमार्गको मुख्य खण्डमा रहेको स्याङ्जामा विकासले अपेक्षित गति लिन नसकेको विषय पनि कार्यक्रमको मुख्य बहस बन्यो ।
मतदाता श्याम डुम्रेले प्रशासनिक रुपमा अब्बल मानिएको जिल्लाबाट विभिन्न राजनीतिक दलबाट नेतृत्व तहमा प्रतिनिधित्व भए पनि किन विकासले गति लिन नसकेको भन्दै प्रश्न उठाउनुभयो । विशेषगरी आँधीखोला हाइड्याम र सिद्धार्थ राजमार्गजस्ता दीर्घकालीन महत्वका आयोजना ओझेलमा परेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मतदाता रमेश अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै बारबारा फाउण्डेसनसँग जोडिएका व्यक्तिहरुलाई पार्टीले प्रचारप्रसार गरेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रियताको सवालमा रास्वपाको परराष्ट्र नीति कस्तो हुने हो भन्दै उम्मेदवारसँग स्पष्ट जवाफ माग्नुभयो ।
मतदाताका प्रश्नको जवाफ दिने क्रममा नेकपा एमालेका उम्मेदवार खिम थापाले विकास अपेक्षित गतिमा हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले २०४६ साल अगाडिको समय र त्यसपछिको समयको तुलना गर्दा विकास गाउँगाउँमा पुगेको दाबी गर्नुभयो । वालिङमै सुविधा सम्पन्न अस्पताल निर्माण गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै उहाँले बाँदर नियन्त्रणका लागि स्पष्ट नीति नबनाई समस्या समाधान हुन नसक्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “बाँदर नियन्त्रण मेरो प्रमुख एजेण्डामध्ये एक हो ।” राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झविलाल डुम्रेले ग्रामीण क्षेत्रको दिगो विकासबिना मुलुकमा समृद्धि सम्भव नहुने बताउनुभयो । उहाँले सूचना प्रविधिको सही प्रयोगमार्फत ग्रामीण विकासलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।
आँधीखोला हाइड्याम र सिद्धार्थ राजमार्गको स्तरोन्नति एजेण्डामै सीमित नराखी मूर्तरुप दिनु आफ्नो प्राथमिकता रहेको भन्दै पर्यटन विकासलाई पनि मुख्य एजेण्डाका रुपमा अघि सार्नुभयो ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पदमबहादुर विश्वकर्मा, राप्रपाका उम्मेदवार रविन पाठक, नेशनल रिपब्लिक पार्टीका उम्मेदवार तेजबहादुर थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार राजेन्द्र गैह्रे तथा जय मातृभूमि पार्टीका उम्मेदवार धनबहादुर थापाले पनि आफ्ना–आफ्ना एजेण्डा प्रस्तुत गरेका थिए । उनीहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।











प्रतिक्रिया