सुर्खेत ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेत र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा मंगलबार वीरेन्द्रनगरमा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश एवंम् सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत दीपक ढकालले स्वच्छ र भयरहित निर्वाचन बनाउनु सबै निकाय र नागरिकहरुको साझा दायित्व रहेको बताए ।
उनले लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड नै निष्पक्ष निर्वाचन भएको उल्लेख गर्दै कानुनी शासनको पालना सबै पक्षको दायित्व भएको बताए । ‘निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो नागरिकको अधिकार र जिम्मेवारी दुवै हो,’उनले भने, ‘निर्वाचन आचारसंहिता, कानुन र न्यायिक मर्यादाको पालना भए मात्र लोकतन्त्र बलियो हुन्छ । स्वच्छ र भयरहित निर्वाच्न बनाउनु सबैको साझा दायित्व हो ।’ न्यायाधीश ढकालले मतदाताको स्वतन्त्र निर्णयमा कुनै पनि प्रकारको दबाब, प्रलोभन वा अवरोध अस्वीकार्य हुने स्पष्ट पारे ।
सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले शान्ति–सुरक्षा र व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउँदै निष्पक्ष वातावरण सिर्जना गर्नु प्रशासनको प्राथमिक दायित्व भएको बताए ।
उनले निर्वाचन अवधिमा देखिने सम्भावित जोखिमलाई समयमै पहिचान गरी समन्वयात्मक ढंगले समाधान गर्ने तयारी प्रशासनले गरिरहेको जानकारी दिए । ‘निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन सबै निकायबीच सहकार्य अनिवार्य छ । सोही अनुरुप सुरक्षा योजना बनाएर अगाडी बढिरहेका छौं,’उनले भने, ‘मतदाता र उम्मेदवारहरुको सुरक्षामा कुनै कसर बाँकी रहने छैन ।’ उहाँले सुर्खेतमा निर्वाचन सम्बन्धी कुनै खतरा नरहेको उल्लेख गर्दै आचारसंहिता उल्लङ्घनमा समेत प्रशासनले अनुगमन गरिरहेको बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीले प्रदेशभरको सुरक्षा संयन्त्र निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सक्रिय रहेको बताए । ‘मतदातालाई भयमुक्त वातावरण दिनु हाम्रो पहिलो जिम्मेवारी हो,’उनले भने, ‘सुरक्षा निकायले निष्पक्षता कायम राख्दै कानुन विपरीतका गतिविधिमाथि कडाई गर्नेछ ।’ उनले अफवाह, गलत सूचना र सामाजिक सञ्जालमार्फत फैलिने भ्रमप्रति सचेत रहन पनि आग्रह गरे । नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र अर्यालले नागरिक र राजनीतिक दलहरुले सकरात्मक भूमिका निर्वाह गरेपछि स्वच्छ र भयरहित निर्वाचन हुने भन्दै नागरिक समाज संस्थाहरुको अनुगनले पनि कम धाँधली भएको बताए ।
राजनीतिक दलका प्रतिनिधिहरूले पनि स्वच्छ निर्वाचन र मतदाताको विश्वास कायम राख्नु अहिलेको मुख्य चुनौती भएको धारणा राखेका छन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज केदार कँडेलले दलहरुले निर्वाचनलाई जनताको आवाज अभिव्यक्त गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्ने बताए । उनले विकास, सुशासन र पारदर्शिताका एजेन्डा केन्द्रमा राखेर निर्वाचनमा सहभागी हुन दलहरूलाई आग्रह गरे ।
नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सुर्खेतका सचिव देवकुमार सुवेदीले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । ‘जनताको मतको सम्मान नै लोकतन्त्रको सुन्दरता हो,’उनले भने, ‘दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, द्वेष र विभाजन होइन । हाम्रो पार्टीले उत्साहपूर्ण निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदेश सल्लाहकार डा. गोविन्द प्रसाद आचार्यले युवा पुस्ताको सहभागिता बढाउन विशेष अभियान आवश्यक रहेको उल्लेख गरे । ‘युवाहरूको ऊर्जा र नयाँ सोचले मात्र राजनीति परिमार्जन सम्भव हुन्छ,’उनले भने । राष्ट्रिय जनमोर्चा पार्टीका जिल्ला कमिटी सदस्य हेमराज शर्माले निर्वाचन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व बढाउन नागरिक निगरानी महत्वपूर्ण हुने बताए । उज्यालो पार्टीका प्रतिनिधि दिपेन्द्र बिकले समान अवसर र समावेशितालाई सुनिश्चित नगरेसम्म लोकतन्त्र पूर्ण नहुने धारणा राखे । उनले सीमान्तकृत समुदायको आवाजलाई नीति निर्माणमा समेट्नुपर्नेमा जोड दिए ।
इन्सेकका प्रवक्ता एवं सूचना अधिकारी कृष्ण गौतमले मानव अधिकारको दृष्टिकोणबाट निर्वाचन प्रक्रियालाई हेरिनुपर्ने बताए । ‘मताधिकार प्रयोग गर्ने स्वतन्त्रता नागरिकको मौलिक अधिकार हो,’उनले भने, ‘कुनै पनि प्रकारको दबाब, हिंसा वा विभेद लोकतान्त्रिक मूल्यविरुद्ध जान्छ ।’ उनले नागरिक समाज, मिडिया र अधिकारकर्मीहरूको निगरानी भूमिकाले निर्वाचनलाई विश्वसनीय बनाउने उल्लेख गरे ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राजेन्द्र न्यौपानेले राजनीतिक दलहरु र भातृ संगठनहरुले निर्वाचन आचारसंहितालाई ध्यान दिए धाँधलीरहित निर्वाचन हुने बताए । आयोगले निर्वाचनमा खटिएका परिवेक्षकहरुको समेत अनुगमन गर्ने उनले बताए ।
‘स्वच्छ निर्वाचनका लागि नागरिक अभियान’ भन्ने मूल नाराकासाथ स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गएिको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए । लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र सहभागितामूलक निर्वाचन अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् ।
कार्यक्रममा सहभागीहरूले स्वच्छ निर्वाचन, नागरिक चेतना अभिवृद्धि, दलीय संस्कारमा सुधार तथा कानुनी पालना नै लोकतन्त्र सुदृढीकरणका आधार स्तम्भ भएका औंल्याउँदै अन्तरक्रियाले विभिन्न पक्षबीच सहकार्य र समन्वय बढाउँदै आगामी निर्वाचनलाई थप विश्वसनीय र सहभागितामूलक बनाउने अपेक्षा राखेका छन् । कार्यक्रममा निर्वाचन आयोग, न्याय क्षेत्र, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया