रौतहट ।
नागरिकताको प्रमाणपत्र बनाउन इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर धाएका चन्द्रपुर नगरपालिका–७, नयाबस्तीका ४५ वर्षीय रामबिश्वास साह र उनका छोरा रुपेश साह कर्मचारीको असहयोगका कारण नौ दिनदेखि हैरानी व्यहोर्न बाध्य भएका छन् । प्रशासन कार्यालयमा अभिलेख नदेखिएको भन्दै नागरिकता प्रमाणपत्र हुँदाहुँदै पनि उनी अनागरिकजस्तै बन्नुपरेको पीडितको गुनासो छ ।
रुपेश कुमार साहले माघ ११ गते नागरिकता प्रमाणपत्र बनाउन आवश्यक कागजपत्रसहित इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर पुगेका थिए । तर कार्यालयमा उनका बुवा रामबिश्वास साहको नागरिकताको अभिलेख नभेटिएको भन्दै कर्मचारीले फिर्ता पठाएपछि समस्या सुरु भएको हो । रामबिश्वास साहले २०५४ साल चैत १२ गते जिल्ला प्रशासन कार्यालय गौरबाट ३४२१ नम्बरको नागरिकता प्रमाणपत्र प्राप्त गरेका थिए । तर उक्त अभिलेख कार्यालयमा नदेखिएपछि उनी कहिले जिल्ला प्रशासन कार्यालय गौर त कहिले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर धाइरहेका छन् । प्रशासनका कर्मचारीको असहयोगका कारण नागरिकता प्रमाणपत्र पाउने आशामा उनीहरू दश दिनदेखि हैरानी व्यहोर्दै आएका छन् ।नागरिकता प्रमाणपत्र पाउने अधिकारका लागि पटक–पटक प्रशासन कार्यालय धाउँदा पनि काम नभएपछि पीडित पक्षले सार्वजनिक रूपमा प्रशासनका कर्मचारीको आलोचना गरेका छन् ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले रामबिश्वास साहको नयाँ नागरिकता प्रमाणपत्र बनाउन सर्जमिनका लागि माघ १५ गते प्रहरी चौकी बनबोहरीकोनाममा पठाएको पत्रमा न त चलानी नम्बर उल्लेख छ, न त सम्बन्धित अधिकारीको हस्ताक्षर नै रहेको पीडितको भनाइ छ । उता प्रहरी चौकी बनबोहरीका प्रहरी सहायक निरीक्षक सुरेशमान श्रेष्ठले सर्जमिनका लागि दिनहुँ बोलाएर दुःख दिएको साह परिवारको गुनासो छ । पीडितका अनुसार सुरुमा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत श्याम राउतले अनलाइन प्रक्रिया पूरा गरेर ल्याउन भनेका थिए । तर अभिलेख नदेखिएको र सर्जमिनका लागि बनाइएको कागजातमा समेत हस्ताक्षर नभएका कारण थप दुःख झेल्नुपरेको उनीहरूको भनाइ छ ।
यस विषयमा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत श्याम राउतले नागरिकताको विवरण कम्प्युटर प्रणाली (सीआईएमएस) मा प्रविष्टि गर्ने क्रममा अभिलेख नदेखिएको बताए । कागजी प्रक्रिया पूरा भएपछि रामबिश्वास साहको नागरिकता प्रमाणपत्र बन्ने उनले जानकारी दिए ।











प्रतिक्रिया