स्याङ्जा
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा स्याङ्जा जिल्लामा चुनावी माहौल दिनप्रतिदिन तात्दै गएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारको पक्षमा घरदैलो अभियान, भेटघाट र चुनावी प्रचारलाई तीव्रता दिइरहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ । इतिहास हेर्दा २०६४ सालको संविधानसभा निर्वाचनमा देशैभरि तत्कालीन माओवादीको व्यापक जनलहर देखिए पनि स्याङ्जामा भने त्यसको प्रभाव सीमित रहँदै आएको पाइन्छ । त्यसबेला पनि स्याङ्जामा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपा एमालेबीच नै केन्द्रित थियो । परम्परागत रुपमा यी दुई दलकै पकड क्षेत्र मानिने स्याङ्जामा यसपटक भने राजनीतिक समीकरण बदलिन सक्ने आकलन गरिएको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस र एमालेबीचको परम्परागत प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ शक्ति बनेर समीकरण तोड्ने दाबी गरेको छ । यद्यपि काँग्रेस र एमाले दुवै दलले आफूले नै निर्वाचन जित्ने दाबी गरिरहेका छन् । यस्तो अवस्थामा जिल्लामा सक्रिय प्रमुख दलहरुको संगठनात्मक अवस्था र सदस्य संख्या कस्तो छ भन्ने विषय चासोको विषय बनेको छ । नेपाली काँग्रेसका जिल्ला सचिव दामोदर लम्सालका अनुसार स्याङ्जा जिल्लामा काँग्रेसका २५ हजार १ सय ४२ क्रियाशील सदस्य रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नं १ मा १० हजार ४ सय ९६ र क्षेत्र नं २ मा १४ हजार ६ सय ४६ सदस्य छन् । जिल्लामा सक्रिय राजनीतिक दलहरुमध्ये काँग्रेसकै सदस्य संख्या सबैभन्दा बढी रहेको उहाँको भनाइ छ ।
संगठन र सदस्य संख्याका आधारमा नेकपा एमाले जिल्लामा दोस्रो स्थानमा रहेको छ । एमालेका जिल्ला अध्यक्ष सूर्य गैह्रे (पारस) का अनुसार पार्टीका १३ हजार ५ सय ६८ संगठित सदस्य छन् । जसमा क्षेत्र नं १ मा ६ हजार ७ सय ७६ र क्षेत्र नं २ मा ५ हजार ७ सय ९२ सदस्य रहेका छन् । एमालेको संगठित सदस्य संख्या क्षेत्र नं २ को तुलनामा क्षेत्र नं १ मा बढी देखिन्छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रुक्मागत भण्डारी (विश्वास) का अनुसार स्याङ्जामा रास्वपाका करिब ६ हजार सदस्य छन् । तीमध्ये क्षेत्र नं १ मा ३ हजार ५ सय र क्षेत्र नं २ मा २ हजार ३ सय सदस्य रहेका छन् । हालसम्म जिल्लाका सबै वडामा संगठन विस्तार हुन नसकेको र संगठन निर्माणकै चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को हकमा भने जिल्लामा कति संगठित सदस्य छन् भन्ने स्पष्ट तथ्याङ्क उपलब्ध छैन । झण्डै दुई दर्जन पार्टीबीच एकीकरण भएकाले सदस्य संख्या यकिन गर्न कठिन भएको पार्टीको भनाइ छ । २०७९ सालको निर्वाचनमा एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीको जिल्लामा संगठन रहे पनि पार्टी एकीकरणपछि हाल ती सदस्यहरु नेकपामै समाहित भएका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा क्रियाशील सदस्य संख्यामा पहिलो रहेको नेपाली काँग्रेसले समानुपातिक मतमा पनि अग्रता लिएको देखिन्छ । उक्त निर्वाचनमा काँग्रेसले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट जम्मा ५३ हजार ४ सय ३० समानुपातिक मत प्राप्त गरेको थियो । जसमा क्षेत्र नं १ बाट २५ हजार ४ सय ३१ र क्षेत्र नं २ बाट २७ हजार ९ सय ९९ मत रहेका थिए । त्यसैगरी काँग्रेसको तुलनामा करिब आधा संगठित सदस्य संख्या रहेको नेकपा एमालेले समानुपातिक मतमा भने काँग्रेसकै हाराहारीको परिणाम निकालेको थियो । एमालेले २०७९ को निर्वाचनमा जम्मा ५० हजार ४ सय ८८ मत प्राप्त गरेको थियो । जसमा क्षेत्र नं १ बाट २६ हजार १२ र क्षेत्र नं २ बाट २४ हजार ४ सय ७६ मत रहेका थिए ।
सीमित संगठनका बाबजुद २०७९ को निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जाबाट २२ हजार २ सय २६ समानुपातिक मत प्राप्त गरेको थियो । तीमध्ये क्षेत्र नं १ मा ११ हजार २ सय ७६ र क्षेत्र नं २ मा १० हजार ९ सय ५० मत प्राप्त भएका थिए । त्यस्तै तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकीकरणपछि बनेको नेकपाले २०७९ को निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रबाट जम्मा ५ हजार ५ सय ७१ समानुपातिक मत प्राप्त गरेको देखिन्छ । यसमा नेकपा एसले ल्याएको ८ सय ६१ मत र माओवादी केन्द्रको ४ हजार ७ सय ९ मत समावेश छन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा २ लाख ४८ हजार ८ सय १६ मतदाता रहेका छन् । यो संख्या २०७९ को निर्वाचनको तुलनामा ४ हजार ७ सय २७ ले वृद्धि भएको हो । दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा १ लाख ३० हजार ८ सय ८६ र क्षेत्र नं २ मा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन् ।
यसैबीच जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालका अनुसार स्याङ्जामा निर्वाचनका लागि १ सय ९० मतदानस्थल र ३ सय २२ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ५६ वटा मतदानस्थल अति संवेदनशील, ७१ वटा संवेदनशील र ७२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि कुल २४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुन गइरहेको छ । संगठन, विगतको मत परिणाम र मतदाता संख्या हेर्दा स्याङ्जाको निर्वाचन परिणाम कसको पक्षमा जाने हो भन्ने विषय थप चासोको केन्द्र बनेको छ ।











प्रतिक्रिया