नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा सबै पुल निर्माण सम्पन्न


नवलपरासी ।

राष्ट्रिय गौरवको आयोजना नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै ३४ वटा पुलको निर्माण सम्पन्न भएको छ । तीमध्ये ३३ वटा पुलबाट सवारीसाधन सञ्चालन भइसकेको नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ ।

योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अरुण खोला पुलको अन्तिम स्पानको ढलान पूरा भएसँगै सबै पुल निर्माण सकिएको हो । अरुण खोला पुलबाट पनि फागुन २१ गतेअगावै सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ ।

पूर्वी खण्डको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ भने दाउन्ने क्षेत्रबाहेक अधिकांश स्थानमा दुईतर्फी कालोपत्र सडकबाट यात्रा सहज बनेको छ । कठिन भौगोलिक बनावटका कारण दाउन्ने क्षेत्रमा ढलान तथा कल्भर्ट निर्माणको काम जारी छ ।

चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले निर्माण गरिरहेको यो आयोजना पटक–पटक म्याद थपपछि आगामी साउन ८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।