खगेन्द्र सुनारको अभिव्यक्तिबारे रास्वपाको आधिकारिक धारणा सार्वजनिक


काठमाडौँ।

बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खगेन्द्र सुनारको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आधिकारिक धारणा सार्वजनिक गरेको छ। राष्ट्रिय जनावर गाईसम्बन्धी टिप्पणी विवादमा आएपछि पार्टीले यसप्रति गम्भीर चासो व्यक्त गरेको हो।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सुनार पार्टीमा आबद्ध हुनु अघि व्यक्त विचारका कारण धार्मिक तथा सांस्कृतिक भावनामा पर्न गएको असरप्रति पार्टीको तर्फबाट क्षमायाचना गरिएको उल्लेख छ।

पार्टीका अनुसार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पंक्षीको हत्या समर्थन नगर्ने र राष्ट्रिय जनावरप्रति सम्मान रहेको कुरा स्पष्ट गरिसकेका छन्। सामाजिक सञ्जालमा सन्दर्भविहीन सामग्री फैलिँदा भ्रम सिर्जना भएको भन्दै उनले आत्मालोचना गर्दै माफी मागेका छन्।

घटनापछि पार्टीले सुनारलाई भविष्यमा अभिव्यक्ति र व्यवहारमा संयमित र जिम्मेवार रहन सचेत गराएको जनाएको छ। रास्वपाले धर्म, संस्कृति र राष्ट्रिय प्रतीकप्रति सम्मान तथा सामाजिक सद्भावप्रति आफू प्रतिबद्ध रहेको दोहोर्‍याएको छ।