काठमाडौँ।
गृह मन्त्रालयले स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यसहित वडातहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने विशेष अवधारणा तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको छ।
निर्वाचनका सम्पूर्ण प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र तथा प्रबुद्ध व्यक्तिहरूको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै गृह मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तयार गरेको हो। सो अवधारणा अनुसार आवश्यक कार्य गर्न गृहले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरिसकेको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वडातहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी, स्थानीय राजनीतिक व्यक्तित्व तथा प्रबुद्ध व्यक्तिहरूलाई निर्वाचन व्यवस्थापनका कार्यमा प्रत्यक्ष रूपमा समावेश गराई निर्वाचनप्रति अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले अवधारणा सार्वजनिक गरिएको जानकारी दिए। यसले निर्वाचन प्रक्रियाप्रति विश्वास बढाउने र सम्भावित विवाद तथा तनाव न्यूनीकरण गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
अवधारणा कार्यान्वयनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीहरूलाई दिइएको छ। यसको अनुगमन तथा निगरानी भने गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयमार्फत गरिने व्यवस्था गरिएको छ।
अवधारणापत्र अनुसार वडातहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी तथा प्रबुद्ध व्यक्तिहरूको पहिचान गरी सूची तयार गरिने, मतदान स्थलहरूको स्थलगत निरीक्षणका क्रममा उनीहरूको सहभागितामा बैठक आयोजना गरिने, समय–समयमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारीहरूबाट टेलिफोन सम्पर्क गरिने व्यवस्था गरिएको छ। साथै समूह एसएमएस, भर्चुअल माध्यमबाट संवाद, छलफल, अन्तर्क्रिया तथा सूचना प्रवाहका गतिविधिहरू सञ्चालन गरिने उल्लेख गरिएको छ।
गृह मन्त्रालयले यस अवधारणामार्फत निर्वाचन व्यवस्थापनलाई अझ समावेशी, पारदर्शी र विश्वासयोग्य बनाउने लक्ष्य लिएको जनाएको छ।











प्रतिक्रिया