काठमाडौँ।
प्रहरीले काठमाडौंमा रातीको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए ।
उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरुलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताए । लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उनले जानकारी दिए । उनकाअनुसार तामाङ जेन–जी आन्दोलन अगाडी पनि बुढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए । भदौ २४ मा उनी हिरासतबाट भागेका थिए ।
हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उनले बताए । बुधवार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरुलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको उनले जानकारी दिए । पक्राउको क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन् । हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बुढानिलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशला क्षेत्रमा ३-३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । उनीहरुविरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन् । पक्राउ पर्नेहरुमा विनयसँगै आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा, फुर्वा तामाङ रहेका छन् । उनीहरुसँगबाट प्रहरीले ३ वटा मोटर साईकल, एउटा ट्याक्सी तथा सुनका गरगहना तथा नगद रुपैयाँ बरामद गरेको छ ।
प्रहरीकाअनुसार पक्राउ परेका सबै जना विगतमा पनि चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्तिहरु रहेका छन् । महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए । लुटपाटमा संलग्नहरु काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका रहेका छन् ।











प्रतिक्रिया