बाहिरियो वर्षा गराउने प्रणाली, भोलिबाट खुल्ने


काठमाडौँ।

मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्काे प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए ।

उक्त प्रणालीले आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन । 

नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ति जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि गरायो ।

आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने  र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ । 

बिहीबार तराई भू–भागका धेरै स्थानमा हुस्सु-कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको हुनसक्ने जनाइएको छ ।