काठमाडौँ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीसँग स्पष्टीकरण माग गरेको छ।
आयोगले बुधबार सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार रहेका सीके राउतलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। सार्वजनिक स्थान तथा चौबाटोमा निर्वाचन चिह्न र पार्टी झण्डा प्रयोग गरी तोरण बनाएर प्रदर्शन गरिएको भन्दै आयोगमा उजुरी परेको जनाइएको छ।
यसैगरी, गतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवार बनेकी निशा अधिकारीसँग पनि आयोगले तीन दिने स्पष्टीकरण माग गरेको छ। अष्ट्रेलियामा रहेका नेपाली नागरिकलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडमार्फत चुनावी अभियानमा सहयोग मागिएको भन्दै आयोगमा उजुरी परेको थियो।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवारी दिएका खगेन्द्र सुनारसँग पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। राष्ट्रिय जनावर गाईलाई विषय बनाएर साम्प्रदायिक सद्भाव खल्बलिने किसिमको सूचना प्रवाह गरिएको भन्ने जानकारी प्राप्त भएपछि उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत भएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न आयोगले निर्देशन दिएको जनाएको छ।











प्रतिक्रिया