गोली चलाउने आदेश मैले दिएको होइन, संविधानले पनि दिँदैन : ओली


काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनामा आफूले सुरक्षाकर्मीलाई गोली चलाउन आदेश दिएको भन्ने प्रचार पूर्ण रूपमा निराधार भएको बताएका छन्। सामाजिक सञ्जाल तथा केही पक्षबाट फैलाइएको गलत प्रचारप्रति ध्यानाकर्षण गराउँदै उनले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको स्पष्ट पारे।

ओलीले घटनापछि तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको जानकारी दिँदै ज्यान गुमाएका १९ जना बालबालिकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरे। “उक्त पीडा आजसम्म पनि मसँगै छ,” उनले भनेका छन्।

उनका अनुसार सरकारले सम्भावित घुसपैठको आशंकाका कारण माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरेको भए पनि युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले सहजै अनुमति दिएको थियो। माइतीघरमा बिहानदेखि सुरु भएको जेनजी प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र त्यहाँ न गोली चलेको न लाठीचार्ज भएको ओलीको दाबी छ।

तर करिब मध्यान्हतिर घुसपैठ गर्ने समूहले युवाहरूलाई निषेधित क्षेत्रतर्फ उक्साएको दृश्य सार्वजनिक भएको भन्दै उनले आयोजकहरूले समेत घुसपैठ भएको जानकारी दिँदै सहभागीहरूलाई घर फर्किन आग्रह गरेको बताए। योजनाबद्ध रूपमा बालबालिका तथा विद्यालय पोशाकमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजिएको ओलीको आरोप छ।

“संसद् भवनअघि आगजनीको प्रयास र विस्फोटक वस्तु प्रयोग भएपछि अवस्था आन्दोलनको सीमाभन्दा बाहिर गएर राज्यविरुद्धको हमलामा परिणत भयो,” ओलीले भने। संसद् भवनभित्र सुरक्षाकर्मीमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुनअनुसार गोली चल्न पुगेको र त्यसपछिका घटनाले सबैलाई गहिरो घाउ दिएको उनले उल्लेख गरे।

उनले सुरक्षाकर्मीहरूले सरकारको आदेशमा होइन, कानुनको सपथअनुसार काम गर्ने स्पष्ट पार्दै संसारभर संवैधानिक निकायको सुरक्षा सशस्त्र सुरक्षाकर्मीले चौबीसै घण्टा गर्ने प्रचलन रहेको बताए।

भदौ २४ गते आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत संरचनामा भएको विध्वंशको स्मरण गराउँदै ओलीले अराजकता फैलाउने उद्देश्यसहित ती गतिविधि गरिएको दाबी गरे।

ओलीले माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद् भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने क्षेत्रमा कसले, किन र कसरी लग्यो भन्ने प्रश्नको उत्तर खोज्न सबैलाई आग्रह गरे। साथै, सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न नागरिकहरूलाई विनम्र अनुरोध गर्दै आफू कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको बताएका छन् ।