एचपीभी खोप अब नियमित कार्यक्रममा

फागुन ‘खोप महिना’ भए पनि माघदेखि नै लगाइने


काठमाडौं।

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप यस वर्षदेखि औपचारिक रूपमा नियमित खोप कार्यक्रम अन्तर्गत समावेश गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष सञ्चालन गरेको राष्ट्रिय खोप अभियानपछि एचपीभी खोपलाई दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाएको हो ।

गत वर्ष सरकारले अभियानकै रूपमा एचपीभी खोप सञ्चालन गरी देशभर करिब १७ लाख बालिकालाई खोप दिएको थियो । उक्त अभियानलाई नेपालकै सार्वजनिक स्वास्थ्य इतिहासमा किशोरी लक्षित सबैभन्दा ठूलो खोप कार्यक्रमका रूपमा लिइन्छ । अभियान सफल भएपछि मन्त्रालयले जारी गरेको निर्देशिकामार्फत एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्दै हरेक वर्षको फागुन महिनालाई ‘एचपीभी खोप महिना’ तोकेको थियो ।

तर यस वर्ष खोप कार्यक्रम फागुन मात्रै सीमित नहुने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको बाल तथा खोप शाखाले स्थानीय तथा प्रदेश तहलाई माघ र फागुन दुवै महिनामा खोप सञ्चालन गर्न स्वतन्त्रता दिएको छ । खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्ष फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय भएकाले यस्तो व्यवस्था गरिएको हो । “यसपटक धेरै मतदान केन्द्र विद्यालयमै छन् । एचपीभी खोप पनि विद्यालयमै गएर दिनुपर्ने भएकाले निर्वाचनसँग नजुध्ने गरी माघदेखि फागुन महिनाभर खोप सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको हो,” उहाले भन्नुभयो ।

यस वर्षको नियमित खोप कार्यक्रमअन्तर्गत विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर पूरा गरेका बालिका लक्षित छन् । विभागको अनुमान अनुसार यसपटक करिब साढे ३ लाख बालिकाले एचपीभी खोप लिनेछन् । डा. गौतमका अनुसार खोप सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । “खोप सञ्चालनसम्बन्धी तालिम, व्यवस्थापकीय तयारी सकिएको छ । खोप प्रदेशमा पुगिसकेका छन् र अब स्थानीय तहमा वितरणको क्रममा छन्,” उहाले जानकारी दिनुभयो । यस वर्ष गत वर्ष लक्षित समूहमा परेर पनि खोप लिन छुटेका बालिकालाई समेत समेट्ने व्यवस्था गरिएको उहाले बताउनुभयो ।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये एक प्रमुख समस्या मानिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार समयमै एचपीभी खोप लगाउन सके क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ । यही कारण सरकारले किशोरी लक्षित खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । सरकारले एचपीभी खोप ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा प्राप्त गरेको हो । गाभीको सहयोगमा खोप उपलब्ध भए पनि कार्यक्रम कार्यान्वयन, वितरण र निगरानीको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिएको छ ।

अभियानबाट नियमित कार्यक्रममा प्रवेश गर्नु एचपीभी खोपको सबैभन्दा ठूलो उपलब्धी मानिएको छ । तर विद्यालय–केन्द्रित खोप कार्यक्रम निर्वाचन, शैक्षिक क्यालेन्डर र स्थानीय व्यवस्थापनसँग कति समन्वयमा अघि बढ्छ भन्ने चुनौती भने कायमै छ । त्यसलाई कसरी प्रभावकारी रूपमा व्यवस्थापन गरिन्छ, त्यसले एचपीभी खोप कार्यक्रमको दीर्घकालीन सफलताको दिशा तय गर्ने देखिन्छ ।