काठमाडौँ।
अन्य राजनीतिक दलका उम्मेदवारहरू घोषणापत्रबिनै प्रचार–प्रसारमा जुटिरहेका बेला जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले २७ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। २०७९ को निर्वाचनमा जस्तै यस पटक पनि पार्टीले संविधान संशोधनलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ।
जसपा नेपालले शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा संरचनागत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय समस्याको समाधानका लागि संविधान संशोधन वा पुनर्लेखन अपरिहार्य भएको जनाएको छ। राष्ट्रिय जातीय पहिचान झल्किने गरी राज्य पुनर्संरचना गर्ने र जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ। साथै समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी संसदीय संरचना परिवर्तन गर्ने प्रस्ताव अघि सारिएको छ।
पार्टीले जेन–जी (युवा पुस्ता) आन्दोलनका क्रममा उठेका न्यायोचित माग र मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, सुशासन र पारदर्शिताको प्रत्याभूति गराउने तथा विगतमा भएका सबै प्रकारका भ्रष्टाचार काण्डहरूको छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गराउने उल्लेख प्रतिबद्धतापत्रमा गरिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको अनियमितता, अन्यौल र स्तरहिनताको अन्त्य गर्दै विज्ञान र प्रविधिमैत्री, व्यावसायिक तथा गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने दायित्व राज्यले लिनुपर्ने जसपा नेपालको धारणा छ। साथै रोजगारी सिर्जनालाई राज्यको प्राथमिक जिम्मेवारी बनाउने तर्क गर्दै पार्टीले यी एजेन्डाका लागि आफूलाई मत दिन आग्रह गरेको छ।











प्रतिक्रिया