आचारसंहिता उल्लङ्घन आरोपमा बालेन साहसहित सात व्यक्ति तथा निकायसँग आयोगले माग्यो स्पष्टीकरण


काठमाडौँ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहसहित विभिन्न राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी सात व्यक्ति तथा निकायसँग स्पष्टीकरण माग गरेको छ।

आयोगका अनुसार बालेन शाहले सार्वजनिक बहसका विषयमा एमाले अध्यक्षले सामाजिक सञ्जालमा राखेको पोस्टमा लेखेको प्रतिक्रियाले आचारसंहिता उल्लङ्घन गरेको हो वा होइन भन्नेबारे आयोगले लिखित जवाफ मागेको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले दिएको जानकारीअनुसार नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमार्फत सोही निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टीविरुद्ध गाली, भ्रामक, द्वेषपूर्ण तथा व्यक्तिगत मानहानि हुने सामग्री प्रकाशन तथा प्रसारण गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ। उहाँले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ का खण्ड (ञ) र (ण) उल्लङ्घन गरेको हो वा होइन भन्नेबारे जवाफ मागिएको आयोगले जनाएको छ।

त्यस्तै, श्रम संस्कृति पार्टीलाई दलको नाम, लोगो, चुनाव चिह्न र उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट प्रयोग गरी बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको छ। यस कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन गरेको ठहर गरिएको छ।

जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा. निकोलस) लाई सामाजिक सञ्जालमा सार्वजनिक गरिएको जुत्तासम्बन्धी विषयमा उजुरी परेपछि आयोगले सो विषयमा स्पष्टीकरण माग गरेको छ। जेनजी आन्दोलनसँग जोडेर भाइरल भएको जुत्ता दुरुपयोग गरिएको भन्ने आरोपबारे आयोगले जवाफ मागेको हो।

नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने उजुरी प्राप्त भएपछि आयोगले के कस्तो अवस्था हो भनी तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

त्यसैगरी, आधारभूत विद्यालय श्रीसिया, आदर्शचोकलाई बालविकास शिक्षिका सन्तोषी गुप्तालाई जोरजुलम र करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार स्पष्टीकरण सोधिएको छ। आयोगले विद्यालयलाई दुई दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतसँग पनि आयोगले स्पष्टीकरण मागेको छ। मधेसी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नस्लवाद र घृणास्पद अभिव्यक्ति दिएको उजुरी परेपछि आयोगले ती अभिव्यक्ति दिएका हुन् वा होइनन् भनी जवाफ मागेको जनाएको छ। यस विषयमा संविधान, निर्वाचन आचारसंहिता, मुलुकी अपराधसंहिता र विद्युतीय कारोबार ऐन उल्लङ्घन भएको हो वा होइन भन्नेबारे पनि स्पष्टीकरण सोधिएको छ।

आयोगका अनुसार यसअघि समेत आचारसंहिता उल्लङ्घनका आरोपमा विभिन्न दल, उम्मेदवार र निकायसँग स्पष्टीकरण माग गरिएको थियो। आजसम्म गरी १५ वटा उजुरीका आधारमा स्पष्टीकरण सोधिएकोमा हालसम्म एउटाको मात्र जवाफ प्राप्त भएको आयोगले जनाएको छ।