काठमाडौं।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाका केही वडामा दादुराको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि सरकारले विशेष खोप अभियान सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ३ र ४ का बालबालिकामा दादुराको सङ्क्रमण पुष्टि भएपछि थप जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आपत्कालीन खोप अभियान सञ्चालन गरेको हो।
हालसम्म मलंगवाका २३ जना बालबालिकामा दादुराको लक्षण देखिएको छ। स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा। नवलकिशोर झाका अनुसार, शंकास्पद बिरामीमध्ये प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ। बाँकी १६ जनामा पनि दादुराकै लक्षण देखिएकाले उनीहरूलाई स्वास्थ्यकर्मीको विशेष निगरानीमा राखिएको छ।
महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले सङ्क्रमण देखिएका र आसपासका गरी कुल ६ वटा वडाका करिब ८ हजार बालबालिकालाई समेट्ने गरी खोप अभियान थालिएको जानकारी दिए। उनका अनुसार, १ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई यो खोप दिइनेछ।‘७ जनाको ल्याब रिपोर्ट आए पनि २३ जना नै संक्रमित भएको मानेर हामीले तत्काल एक्सन लिएका छौँ,’ डा। गौतमले भने, ‘यो अभियान बलिरहेको आगोमा पानी हालेजस्तै हो, जसले संक्रमणलाई अन्य बस्तीमा फैलनबाट रोक्नेछ।’ नगरपालिकाका वडा नम्बर २, ३, ४, ८, ९ र १० मा खोप केन्द्रहरू सञ्चालन गरिएको छ। सुरुवाती दिनमा विद्यालय र मदरसाहरूमा खोप दिइने र अन्तिम दिन स्वास्थ्य संस्थामा छुटेकाहरूलाई समेटिने कार्यतालिका छ।
प्रारम्भिक अध्ययन अनुसार, निजी विद्यालय र मदरसा दुवैतिर जाने एक विद्यार्थीबाट सङ्क्रमण फैलिएको पाइएको छ। गत पुस २२ गते पहिलो पटक शंकास्पद बिरामी भेटिएका थिए भने माघ ११ मा ल्याब रिपोर्टले दादुरा पुष्टि गरेको हो। स्वास्थ्यकर्मीका अनुसार, गत वर्ष सञ्चालित राष्ट्रिय खोप अभियानमा सहभागी नभएका र नियमित खोप छुटेका बालबालिकामा यो सङ्क्रमण बढी देखिएको छ।
के हो दादुरा? विशेषज्ञको सुझाव
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। शेरबहादुर पुनका अनुसार दादुरा भाइरसका कारण लाग्ने निकै संक्रामक रोग हो। विशेषगरी ५ वर्षमुनिका बालबालिकामा यसले जटिलता निम्त्याउन सक्छ।
लक्षण: ज्वरो आउनु, शरीरमा राता विमिरा देखिनु, आँखा रातो हुनु र नाकबाट सिँगान बग्नु।
जटिलता: निमोनिया, मस्तिष्क ज्वरो र आँखामा गम्भीर समस्या।
डा. पुन भन्छन्- ‘दादुराको खास औषधि छैन, यसको एकमात्र बलियो ढाल भनेकै खोप हो। सङ्क्रमण भएमा बिरामीलाई आइसोलेसनमा राख्नुपर्छ र भिटामिन ुएु अनिवार्य खुवाउनुपर्छ।’
सरकारले सन् २०२३ सम्म दादुरा उन्मूलन गर्ने लक्ष्य राखे पनि पटक(पटक देखिने ुआउटब्रेकु ले यसलाई पर धकेल्दै लगेको छ। अहिले नेपालको नयाँ लक्ष्य सन् २०२६ सम्म दादुरा उन्मूलन गर्ने रहेको छ। तर, केही समुदायमा खोपप्रति रहेको भ्रम र सीमावर्ती क्षेत्रमा हुने मानिसहरूको आवतजावतले गर्दा अभियान चुनौतीपूर्ण बनेको छ।
स्थानीय प्रशासनले सङ्क्रमण थप फैलन नदिन भारतसँगको सीमा नाकामा समेत निगरानी बढाएको छ। स्वास्थ्य कार्यालयले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगी अनिवार्य खोप लगाउन अपिल गरेको छ।











प्रतिक्रिया