सर्लाही।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार दिउँसो सर्लाही आइपुग्दा जिल्लाभरका कार्यकर्ता र मतदाता उत्साहित भएका छन । सभापति थापाको जिल्ला झरेसँगै चुनावी माहौल तातिरहेको कार्यकर्ताको भनाइ छ।
निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्ता भेटघाटका लागि दिउँसो २ बजे सभापति थापा सर्लाही आइपुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट कांग्रेसका उम्मेदवार बनेका सभापति थापालाई स्वागत गर्न कार्यकर्ता, समर्थक तथा मतदाताको ठाउँ- ठाउँमा ठूलो भीड देखिएको थियो।
सभापति थापालाई लिन नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकहरू बारा जिल्लाको सिमरा विमानस्थलसम्म पुगेका थिए। सिमरामा केही समय कार्यकर्तासग भेटघाट गरेपछि सभापति थापा सर्लाहीको बागमती आइपुग्दा उनलाई स्वागत गर्नेहरूको ठूलो भिड लागेको थियो। बागमतीमा कार्यकर्तासँग भेटघाटपछि कार्यकर्ता, समर्थक र मतदातासहित सभापति थापा बरहथवा–९ मुर्तियामा रहेको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको मुक्तेश्वर महादेव मन्दिरमा दर्शन गरेर निर्वाचन क्षेत्र गएका हुन् ।
निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सभापति थापालाई स्वागत गर्न चाहनेको भीड ठूलो भएपछि स्वागत गर्नेलाई पालो पाउनसमेत मुस्किल परेको थियो। कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र सिंहले मधेसमा सभापति थापाप्रतिको उत्साह बढेको उल्लेख गर्दै भावी प्रधानमन्त्री सर्लाही–४ बाट हुने दाबी गरे। नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को सम्पर्क कार्यालय धनकौल परिसरमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएपछि बिहानैदेखि मतदाता र कार्यकर्ताको भीड लागेको थियो। ५१ वडा समेटिएको निर्वाचन क्षेत्रका प्रत्येक वडाबाट तामझामसहित कार्यकर्ता र मतदाता सहभागी भएपछि सभापति थापालाई मञ्चसम्म पुर्याउन सुरक्षाकर्मी र कार्यकर्तालाई हम्मेहम्मे परेको थियो।
सम्बोधनका क्रममा सभापति थापाले मधेसको विकास बिना देशको विकास सम्भव नभएको उल्लेख गर्दै शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, “मधेसको विकासका लागि शिक्षा सुधार अनिवार्य छ। कुनै बेला मधेसका शिक्षकहरूले पहाडमा गएर गणित र विज्ञान पढाउँथे, तर आज यही मधेसमा गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थी कमजोर देखिएका छन्। यो अवस्था सुधार्न हामी सबैले भूमिका खेल्नुपर्छ।´
सभापति थापाले शिक्षा सुधार गर्न सके आगामी केही दशकमा नेपालको आम्दानीको प्रमुख स्रोत सूचना प्रविधि बन्न सक्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो टिमले निरन्तर काम गरिरहेको बताए । मधेसका साथीहरूको आग्रह र आफ्नो तीव्र इच्छाकै कारण मधेसबाट चुनाव लड्न आएको उनको भनाइ थियो।सभापति थापाले माघ ६ गते वासेसनामार्फत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् । आगामी चार दिनसम्म उनले निर्वाचन क्षेत्रमा रहेका मतदातासँग भेटघाट गर्ने, मत माग्ने तथा पार्टीका विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलो पटक तराई–मधेस क्षेत्रमा आएका हुन् ।











प्रतिक्रिया