उम्मेदवारीपछि कांग्रेस सभापति गगन थापा पहिलोपटक सर्लाहीमा


सर्लाही।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार दिउँसो सर्लाही आइपुगेका छन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएपछि उनी कार्यकर्ता तथा मतदातासँग भेटघाटका लागि पहिलोपटक सर्लाही आएका हुन् ।

सभापति थापाले माघ ६ गते वारेसनामार्फत सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका थिए। अबका चार दिनसम्म उनले निर्वाचन क्षेत्रमा रहेका मतदातासँग भेटघाट गर्दै मत माग्ने र पार्टीका विषयमा छलफल गर्ने कार्यक्रम रहेको सर्लाही कांग्रेसका निवर्तमान सभापति सुरेन्द्र सिंहले जानकारी दिए।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा पहिलो पटक तराई–मधेस क्षेत्र आएका हुन् । सभापति थापाले सोमबार नै सर्लाहीको धनकौलस्थित क्षेत्र नम्बर ४ का कांग्रेस कार्यकर्तालाई सम्बोधन गरेका छन् ।

राजधानीबाट सिमरा विमानस्थल झरेका सभापति थापाले पर्सा, बारा र रौतहटका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै सर्लाही आइपुगेका हुन् ।उनले सर्लाहीको बागमतीमा कार्यकर्तासँग भेटघाट गर्नुका साथै बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वर महादेव मन्दिरको दर्शन समेत गरेका छन् ।

निर्वाचन क्षेत्र बसाइको क्रममा सभापति थापाले क्षेत्र नम्बर ४ का मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्याबारे सुझाव संकलन गर्ने बताएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति गगन थापासहित राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह, नेकपा एमालेका अमनिस राय, नेकपाका रजनीस राय र जनता समाजवादी पार्टीका रामेश्वर रायले उम्मेदवारी दिएका छन् ।