नक्कली कागजात बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

भारतीय नागरिकलाई नक्कली कागजात तयार गरी नेपाली नागरिकता दिलाएको अभियोगमा दाङको राजपुर गाउँपालिकाका तत्कालीन वडा अध्यक्ष, इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार राजपुर गाउँपालिका–४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (अहिर) र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासको मिलेमतोमा भारतीय नागरिक आलम जोल्हालाई वंशजका आधारमा नेपाली नागरिकता दिलाइएको हो ।

अनुसन्धानका क्रममा आलम जोल्हालाई नेपाली नागरिकता दिलाउन २०३८ साल माघ १५ गते नै मृत्यु भइसकेका सनाउल्ला जोल्हाको मृत्युदर्ता प्रमाणपत्रमा मृत्यु मिति सच्याएर २०४१ बनाइएको पाइएको छ । सोही आधारमा आलमलाई सनाउल्लाको छोरा देखाई २०३९ सालमा जन्मिएको भनी नक्कली जन्मदर्ता प्रमाणपत्र तयार गरिएको अख्तियारको दाबी छ ।

अख्तियारले तत्कालीन इप्रका प्रमुख खवास, वडा अध्यक्ष रामेश्वर यादव, वडा सचिव तथा कार्यालय सहायक राजेशकुमार कहार र मीना चौधरी, नागरिकता प्राप्त गर्ने आलम जोल्हा तथा झुटो सनाखत गर्ने मतियारका रूपमा आएका आएसा जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आलम जोल्हाको नाममा २०७५ मंसिर २८ गते ५२–०६–७५–०३८२६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जारी गरिएको थियो । अख्तियारले यस प्रकरणलाई गम्भीर भ्रष्टाचार तथा राज्यविरुद्धको अपराधका रूपमा लिँदै कानुनी कारबाही अघि बढाएको जनाएको छ ।