काठमाडौं।
प्रधान सेनापति खुला म्याराथनको ११ औं संस्करण यही माघ २४ गते हुने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा २ सय ६३ औं सेना दिवसको अवसरमा म्याराथनका साथै छोटो दुरीका दौड पनि हुनेछ । यसपटक म्याराथनको नारा ’बलियो एकता, सुरक्षित राष्ट्र‘ रहेको छ ।
प्रतियोगितामा पुरुष म्याराथन (४२.१९५ किमी) र महिला र पुरुष हाफ म्याराथन (२१ किमी) मा प्रतिस्पर्धा हुनेछ । साथै १० किमी सैनिक अधिकृतहरु (महिला÷पुरुष), ५ किमी वाकाथन, ५ किमी दौड विधा रहेका छन् ।
पुरुषतर्फ म्याराथन र हाफ म्याराथनका विजेताले मोटरसाइकल तथा महिलातर्फको विजेताले स्कुटर प्राप्त गर्नेछिन् । हाफ म्याराथनका दुबै विजेताका लागि काठमाडौं महानगरपालिका तथा पुरुषतर्फको विजेताका लागि रिसिक अटोमोबाइल प्रालिले उपलब्ध गराउने बताइएको छ ।
प्रतियोगिताको पुरस्कार रकम झन्डै १४ लाख रुपैयाँको रहेको छ । जसमा, म्याराथनको विजेताले मोटरसाइकलकासाथ ३ लाख, दोस्रो हुने खेलाडीले २ लाख र तेस्रो हुने खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । म्याराथनका शीर्ष १० खेलाडी नगद पुरस्कार प्राप्त गर्नेछन् ।
हाफ म्याराथनका दुबैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रो खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सेनाले म्याराथनमा २ सय ५०, हाफ म्याराथनमा ६ सय, १० किमीमा ८ सय, ५ किमी वाकाथन र दौड गरि ५ सय ५० तथा अफिसियल गरी ३ सय गरी करिब २५ सयको सहभागिता रहने विश्वास लिएको छ ।
भद्रकालीस्थित जंगी अड्डाबाट सुरु हुने म्याराथन सहरका विभिन्न भाग भएर पुनः सोही ठाउँमा आएर टुंगिनेछ।











प्रतिक्रिया