काठमाडौं।
हनुमानढोका दरबार परिसरमा रहेको जीर्ण प्रहरी कार्यालय भत्काउन समिति गठन हुने भएको छ । यस विषयमा छलफल गर्न गृहमन्त्री, पुरातत्व विभाग, पर्यटन तथा संस्कृति मन्त्राललयका सचिव, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सम्पदा अभियन्तासहितको टोलीले आइतबार अकस्मात हनुमानढोका भ्रमण गरेका थिए । गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, प्रहरी महानिरीक्षक दानबहादुर कार्की पुरातत्व विभागका सहसचिव एवं प्रवक्ता रामबहादुर कुँवर, अभियन्ता यादवलाल कायस्थ र रवि शाक्य (टम एन्ड जेरी) लगायतको टोलीले हनुमानढोका परिसरको स्थलगत अनुगमनपश्चात् भवन भत्काउन अभियन्तासहितको समिति गठन गर्ने निर्णय गरेको हो ।
सो क्रममा गृहमन्त्री अर्यालले विश्व सम्पदा क्षेत्रभित्र धरापमा रहेको हनुमानढोका प्रहरी परिसर भवन भत्काउने विषयमा तत्काल निर्णय गर्ने बताउनुभएको थियो । भवनसँगै नेपाल प्रहरी क्लबमा रहेको ऐतिहासिक मूर्तिहरू फिर्ता गर्ने विषयमा छलफल भएको थियो । अभियन्ता कायस्थले लामो समयको प्रयासपछि हनुमानढोका प्रहरी कार्यालय भत्काउन सरकार तयार भएको जानकारी दिँदै भन्नुभयो– ‘स्थानीयको सहभागितामा भवन भत्काइने छ । पुरातात्विक मान्यता भएको, ऐनबमोजिम मल्लकालीन भवन पुनर्निर्माण गरिने छ । पहिलो तलामा प्रहरीको ऐतिहासिक संग्रहालय र अर्को तलामा विश्व सम्पदा सुरक्षार्थ पौराणिक पोशाकसहित नेपाल प्रहरी नै रहने छ ।’ सम्पदा अभियन्ता यादवलाल कायस्थले एकसाता अघि गृहमन्त्री अर्यालसँग भेट गरी धराप रहेको हनुमानढोका भत्काउनुपर्ने र नेपाल प्रहरी क्लबभित्र राखिएका दर्जनौं पुरातात्विक मूर्ति त्यहाँबाट अन्यत्र हटाउनुपर्ने बताउनुभएको थियो ।
विभागका सहसचिव एवं प्रवक्ता कुँवरले भवन भत्काउन समिति गठन हुने र समितिको निगरानीमा भवन भत्काइने जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरी क्लबभित्र रहेको मूर्ति फिर्ता गर्ने विषयमा प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने तयारी भएको जानकारी पनि दिनुभयो ।
यसअघि गृहमन्त्रालयमा बिहीबार बसेको बैठकले भवन भत्काउने निर्णय भएको थियो । गृहमन्त्री अर्यालयको अध्यक्षतामा बसेको बैठकमा काठमाडौं महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इं, पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, प्रहरी महानिरीक्षक दानबहादर कार्कीलगायतका उच्च अधिकारीको उपस्थिति रहेको थियो । बिहीबारको बैठकलगत्तै गृहमन्त्रीसहितको टोली अनुमानढोका प्रहरी परिसर पुगेको थियो । अभियन्ता रवि शाक्य (टम ऐन्ड जेरी)ले विश्वसम्पदा क्षेत्रभित्र रहेको कुरूप भवन भत्काउने निर्णय सही भएको बताउनुभयो । अनुगमनका क्रममा उहाँले भन्नुभयो– ‘यस ऐतिहासिक क्षेत्रमा कलात्मक भवन बनाउनुपर्छ । यसलाई संग्रहालयको रूपमा परिणत गर्नुपर्छ ।’
सरकारले प्रहरी भवन भत्काएर सम्पदामैत्री बनाउने तयारी थालेको छ । विसं २०७२ सालको भुकम्पले क्षतिग्रस्त सो भवन पूर्ण रूपमा जीर्ण भइसकेको छ । जीर्ण सो भवनभित्र प्रहरी बसिरहेको छ । २०७२ सालअघि हनुमानढोका दरबार परिसरभित्र काठमाडांै जिल्ला प्रहरी कार्यालय थियो ।
वि सं २०१५ सालमा निर्माण भएको सो भवन विश्व सम्पदाको मापदण्ड विपरीत छ । ‘विश्व सम्पदा क्षेत्रभित्र सांस्कृतिक , धार्मिक र पुरातात्विक एवं ऐतिहासिक संरचानाहरूले भरिपूर्ण क्षेत्रमा कुरूप भवनले विश्वभरका पर्यटक गिज्याइरहेको छ । भवन जीर्ण र मानव बस्न लायकको नभएको भनी रातो स्टिकर लगाइएको भए पनि सो भवनमा प्रहरीहरू बसिरहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं स्थानान्तरण भएको एक दशक पुगिसक्दा पनि भवन भत्काउन कुनै निकायले चासो दिएका थिएनन् ।
यसअघि गतवर्ष कातिक २० गते विभागको बैठकमा पुरातत्व विभाग विश्वसम्पदा शाखाले ३ बुँदे निर्देशन दिँदै सो भवन मापदण्डविपरीत रहेको र भूकम्पले जीर्णसमेत रहेकोले भत्काउन पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका स्वामित्वमा रहेको सो भवन ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । सानाठूला गरी ५ वटा संरचना रहेको भवन इँट्टा पर्खालले घेरिएको छ । पर्खाल पूर्ण रूपमा जीर्ण छ । मुख्य भवन भूकम्पले क्षतिग्रस्त अवस्थामा रहेको भए पनि हाल केही प्रहरी सो भवनमा बसिरहेका छन् । ५ वटा संरचनामध्ये उत्तरपूर्वी भागमा रहेको भवन जीर्ण अवस्थामा रहेको उल्लेख छ ।











प्रतिक्रिया