नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न


काठमाडौँ। 

नेपाल खुला विश्वविद्यालय (एनओयू) को पहिलो ऐतिहासिक दीक्षान्त समारोह आइतबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न भएको छ। स्थापनाको छोटो समयमै दूरशिक्षा र नवीन प्रविधिमार्फत उच्च शिक्षामा पहुँच विस्तार गरेको यस विश्वविद्यालयले वि.सं. २०८२ माघ ११ गते आफ्नो प्रथम दीक्षान्त उत्सव मनाएको हो।

विश्वविद्यालयका कुलपति एवं सम्माननीय प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

विश्वविद्यालय स्थापना भएदेखि २०८२ आषाढ मसान्तसम्म विभिन्न शैक्षिक कार्यक्रम सफलताका साथ सम्पन्न गरेका कुल ५४५ जना विद्यार्थीहरू दीक्षित भएका छन्। जसमध्ये आजको समारोहमा १८६ जना विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई दीक्षित भएका हुन्।

समारोहमा सङ्कायगत रूपमा सामाजिक शास्त्र तथा शिक्षा सङ्कायबाट २४०, व्यवस्थापन तथा कानुन सङ्कायबाट २७४ र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायबाट ३१ जना दीक्षित भएका छन्। तहगत रूपमा दर्शनाचार्यमा १५२, स्नातकोत्तरमा ६४, पि.जि.डी मा २ र स्नातक तहमा ३२७ जना विद्यार्थी रहेका छन्।

प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले खुला विश्वविद्यालयलाई ‘निरन्तर सिकाइको प्रतीक’ र सीमाविहीन शिक्षाको विशिष्ट केन्द्रका रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “खुला विश्वविद्यालयका विद्यार्थीहरू बढी परिपक्व र स्व-अध्ययनशील हुन्छन्। दूरशिक्षाले मानिसमा आत्म-अनुशासन र जीवनभर सिकिरहने चेतना विकास गर्छ।”

माथेमाले डिग्री प्राप्तिलाई शिक्षाको अन्त्य नभई नयाँ चरणको सुरुवात भएको बताउँदै साहित्य र बहुविषयक ज्ञानले मानवीय संवेदनशीलता र विचारको विकास गर्नेमा जोड दिनुभयो।

कुलपतिको आसनबाट बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले देश-विदेशमा रहेका नेपाली विद्यार्थीहरूका लागि खुला तथा दूर सिकाइका माध्यमबाट गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्‍याउन विश्वविद्यालयले गरिरहेको प्रयासको सराहना गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरू अझै गतिशील हुनुपर्छ। खुला विश्वविद्यालयले समयको प्रवाहलाई आत्मसात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई सँगै लैजान सकोस्।”

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्यले यो दीक्षान्त समारोहलाई विश्वविद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण कोशेढुङ्गा भन्नुभयो। सोही अवसरमा विश्वविद्यालयको पहिलो प्राज्ञिक जर्नल “नेपाल खुला विश्वविद्यालय जर्नल” को पहिलो अङ्कको समेत अनावरण गरिएको थियो।

समारोहमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, सभासद, पूर्व पदाधिकारी, प्राध्यापक, विद्यार्थी र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।