राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट जगत र सम्झना विजयी 


पोखरा। 

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । खुलातर्फ नेपाली कांग्रेसको तर्फबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना विजयी हुनुभयो । उहाँले १३१ मत स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष एवं उपाध्यक्षबाट र ४८ मत प्रदेश सभा सांसदको गरी ५०३३ मतभार पाउनुभयो । 

यसैगरी महिला क्लस्टरतर्फ एमाले उम्मेदवार गोरखाकी सम्झना देवकोटा विजयी हुनुभयो । उहाँले स्थानीय तहका १२९ र प्रदेश सांसदको ४८ मत पाउनुभयो । उहाँको मतभार ५०१४ थियो । एक स्थानीय तहको मत बदर भएको थियो । प्रदेश सांसदको एक मत बराबर ५३ मतभार र पालिका प्रमुख उपप्रमुखको १९ मतभार कायम गरिएको थियो । दुवै उम्मेदवारका लागि २ प्रदेश सांसदको मत बदर भएको थियो । गठबन्धनका उम्मेदवारहरुलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा (हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आवद्ध) ले मतदान गरेका छन् ।

कांग्रेसका तिमिल्सिना कांग्रेस निकटको प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय अध्यक्ष रहेका र निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा निकटका पात्र हुनुहुन्छ । उता देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुनुहुन्छ । २ वर्ष अघिको निर्वाचनमा पनि उहाँ राष्ट्रिय सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो । काँग्रेस र माओवादी गठबन्धनका कारण उहाँ पराजित हुनुभएको थियो । त्यसअघि २०७४ मा गोरखा नगरपालिकाको उपमेयर र २०७९ मा गोरखा नगरपालिकाकै मेयर पदमा पराजित हुनुभएको थियो । एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको उहाँ पराजित हुनुभयो । पटकपटक हार व्यहोरेको व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने प्रवृत्ति दोहो¥याएको भन्दै एमालेका कतिपय कार्यकर्ताले गुनासो गरेका थिए । 

दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा २ प्रदेश सांसद र ३ जना स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मतदान गरेनन् । गण्डकी प्रदेशमा ६० जना प्रदेश सांसद र ८५ स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष गरी १७० जना मतदाता रहेका थिए । तर एक जना प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) अहिले जेलमा भएकाले उनको मतदाता नामावलीमा नाम समावेश थिएन । ५९ जना प्रदेश सांसद मतदाता रहेकोमा राप्रपाका पञ्चराम गुरुङ र बिन्दुकुमारी पौडेल मतदानमा अनुपस्थित भए ।