कोशीबाट राष्ट्रियसभामा थापा, पोर्तेल र मेचे विजयी, गठबन्धनबाट फ्लोरक्रस

8.27k
Shares

राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट काँग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी  हुनु भएको छ  । ३ पदका लागि भएको निर्वाचनमा थापा निर्विरोध बन्नु भयो भने पोर्तेल र मेचेलाई नेकपाका खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिनु भएको थियो । तर, काँग्रेस, एमाले र जसपाको गठबन्धन भएको कारण उनीहरुको जित यसअघि नै सुनिश्चित थियो ।   राष्ट्रिय सभाका लागि आज कोशी प्रदेशमा भएको निर्वाचनमा दलित तर्फ नेकपा एमालेका सोम पोर्तेल निर्वाचित हुनु भएको हो । 

पोर्तेलले सूर्य चिन्हमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गर्नुभएको छ । पोर्तेल ७ हजार ४२३ मत प्राप्त गरी निर्वाचित  हुनुभयो । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गर्नुभयो । 

प्रदेशसभातर्फ एक मत भने बदर भएको थियो । राष्ट्रिय सभाका लागि आज कोशी प्रदेशमा भएको निर्वाचनमा महिला तर्फ नेकपा एमालेकी उम्मेदवारा रोशनी मेचे निर्वाचित  हुनु भएको छ  । उनीे ७ हजार १७३ मत प्राप्त गरी विजयी  बन्नुभयो । कोशी प्रदेशसभा अन्तरगत ८७ सांसदहरुले मतदान गरेकोमा सूर्य चिन्हमा ६४ र तारा चिन्हमा २२ मत परेको थियो भने स्थानीय तह तर्फ सूर्य चिन्हमा १९९ र तारा चिन्हमा ५८ मत प्राप्त भएको छ । महिला तर्फ नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेले २२६८ मत प्राप्त गर्नुभएको छ ।  प्रदेशसभा र स्थानीय तहतर्फ एक एक मत बदर भएको थियो ।   निर्वाचित बनेका थापा काँग्रेस नेता हुन् । उहाँको प्रतिस्पर्धी नेकपाका उम्मेदवार हेमराज घिमिरे समयमै उपस्थित हुन नसकेपछि निर्विरोध  बन्नु भएको थियो । 

सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित  हुनु भएको थियो । उहाँले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सीटबाट विजय हासिल गर्नुभएको थियो । २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तरगत विभिन्न देशमा सेवा गर्नुभएको थियो । उहाँ सन् २०११ मा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो  । उनी २०७७ साल कार्तिकमा भने नेपाली कांग्रेस प्रवेश गरी सह–महामन्त्री बन्नु भएको थियो  । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । थापाको जन्म २०१६ साल वैशाख १ गते धनकुटाको पाख्रिबास मुगामा भएको हो ।

नेकपा (एमाले) ले कोशी प्रदेशबाट दलित कोटाबाट राष्ट्रिय सभाका लागि सोम पोर्तेललाई उम्मेदवार बनाएको थियो । झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच बर्से कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तह राष्ट्रियसभामा  पुग्नु भएको हो । पाँचथरमा २०३५ साल फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिवारीका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो ।  पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव छ । नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनमा उठाएको महिला कोटाको अर्को विजयी उम्मेद्वार हुनुहुन्छ झापाकी युवा नेतृ रोशनी मेचे । अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम  गर्नुभएको थियो ।  गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट ओली पदच्यूत भएसँगै उहाँ पार्टीको गतिविधिमा सिमीत  हुनुहुन्थ्यो । २०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुनुहुन्छ । अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उहाँ विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय  हुनुहुन्छ । कोशी प्रदेशमा पाँच प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएनन भने १० जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख अनुपस्थित देखिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेबीचको बलियो गठबन्धन भनिए पनि मतदानमा भने ‘फ्लोर क्रसिङ’ देखिएको छ । निर्वाचनमा पराजित भए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले आफ्नो पार्टीको वास्तविक मतभारभन्दा उल्लेख्य बढी मत तान्न सफल भएका छन् ।  विराटनगरमा आइतबार भएको निर्वाचनमा नेकपाकी महिलातर्फकी उम्मेदवार नमिता न्यौपाने र दलिततर्फका उम्मेदवार खेम सुन्दासले काँग्रेस र एमालेको ‘कोर’ भोट काट्दै आफ्नो मतभार बढाएका हुन् । कोशी प्रदेशमा नेकपाका १७ सांसदको मतभार ९०१ र स्थानीय तहका ३६ पदाधिकारीको मतभार ६८४ गरी कुल १ हजार ५८५ मात्रै थियो । तर, परिणाम आउँदा दुवै उम्मेदवारले गठबन्धनको मत तान्न सफल भए । महिलातर्फकी उम्मेदवार नमिता न्यौपानेले गठबन्धनका ५ जना प्रदेश सांसद र २२ जना पालिका पदाधिकारीको मत आफ्नो पक्षमा पारिन् । उनले सांसदबाट २६५ र स्थानीय तहबाट ४१८ गरी कुल ६८३ थप मतभार प्राप्त गरिन् । त्यसैगरी, दलिततर्फका उम्मेदवार खेम सुन्दासले १ जना सांसद र २१ जना स्थानीय तहका पदाधिकारीको मत तान्न सफल भए । उनले प्रदेश सभाबाट ५३ र स्थानीय तहबाट थप मत गरी ४५२ थप मतभार बटुलेका छन् । काँग्रेस र एमालेको कडा ह्वीपका बाबजुद भएको यो अन्तर्घातले गठबन्धनभित्र खैलाबैला मच्चाएको छ ।