काठमाडौँ
गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आइसिएएन) मा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघसँग सम्झौता गरेको छ । सो सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष श्री अनुप नेपालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापश्चात नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आइसिएएन) मा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजारदेखि ५ लाख रुपियाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरी बिनाधितो १५ लाखसम्मको व्यक्तिगत व्यावसायिक कर्जासमेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यलाई आकर्षक ब्याजदरमा घर कर्जा तथा सवारी साधन कर्जा सुविधा पनि प्रदान गर्ने जनाएको छ ।
हाल गरिमा विकास बैंक लिमिटेडले “अब आफ्नै घर” भन्ने नाराका साथ ६ दशमलव ४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५ दशमलव ९९ प्रतिशतदेखि नै गरिमा साना तथा मझौला उद्यम एवं व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।
हाल देशभर गरिमा विकास बैंक लिमिटेडका १२६ शाखा कार्यालय, ५१ वटा एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।











प्रतिक्रिया