भद्रपुर ।
एमालेको भ¥याङ चढेर लगातार झापा ३ मा दुई कार्यकाल चुनाव जितेका राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन ,तीन दशकदेखि एकलौटी चुनाव लड्दै आइरहेका छन् । काँङ्ग्रेसका नेता सिटौलाको ‘आधार इलाका’ झापा– ३ मा विपक्षीखेमाका राजेन्द्रकुमार घिमिरेले टिकट पाउनु र एमालेले १२ वर्षसम्म सूर्य चिन्हमा मत हाल्न नपाएको क्षेत्र यो पटक कुन पार्टीले मतदातालाइ ढोक्सामा पार्ने भन्ने चर्चा चुलिएको छ ।
पछिल्ला दुईवटा चुनावमा झापा ३ र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच तालमेल हुँदै आएको थियो । तर यो पटक यी दुवै क्षेत्रमा एमाले र राप्रपाले आ–आफ्नो उम्मेदवार उठाएका छन् । काँङ्ग्रेस विशेष महाधिवेशनपक्षको पोल्टामा माहौल नगएको भए घिमिरेले यसपटक पनि टिकट पाउने थिएनन् । घिमिरे, सिटौला विपक्षीखेमाका काँङ्ग्रेस कार्यकर्ता हुन ।
आगामी चुनावमा एमाले उम्मेदवारको जित निश्चित छ भन्नेहरुको खुसी यसरी अभिव्यक्त भइरहेको छ कि ‘हामीले योपटक १२ वर्षपछि सूर्य चिन्हमा भोट हाल्न पाउने भएका छौँ ।’एमालेजनको यो उत्साहप्रति आममतदाता भने शङ्कालु बनेका छन् । किनकी यो क्षेत्रमा नेपाली काँङ्ग्रेस , राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य पनि कम देखिदैनन ।
झापा– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली काँङ्ग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले)बाट संविधानसभा सदस्य हरिबहादुर राजवंशी, रास्वपाका जिल्ला सभापति प्रकाश पाठक, नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरे (हिक्मत) ,श्रमसंस्कति पार्टीका दीपक तिम्सिनासहित १७ जना उम्मेदवार छन् । जसमा अभय राजवंशी र मानप्रकाश सङ्ग्रौलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आदिवासी बहुल बस्तीहरूले भरिएको झापा ३ मा जसले ती क्षेत्रका (आदिवासी) मतदातालाइ विश्वस्त पार्नसक्छन् त्यही उम्मेदवारले जित हासिल गर्ने सम्भावना देखिएको छ ।
विगतमा ‘हेभी वेट’ उम्मेदवारका कारण यो क्षेत्र चर्चा र चासोको विषय बनेपनि यो पटक काँङ्ग्रेसमा छक्का पञ्चा गर्ने नेता कृष्णप्रसाद सिटौलाको चावी खोसिएको छ । विगतमा लिङ्देनलाई कडा टक्कर दिने सिटौला यसपटक चुनावी मैदानमा नदेखिएपछि लिङदेन ‘ह्याट्रिक’ गर्ने ‘तानाबाना’ बुन्नमा व्यस्त छन् । लगातार दुईपटक (२०७४ र २०७९ मा) सिटौलालाई चुनाव हराएर लिङदेनले यो क्षेत्रलाई आफ्नो पकड बनाएकोमा ढुक्क छन् ।
किनकि लिङ्देनले ०७४ र ०७९ को चुनावमा सिटौलालाई एमालेको भ¥याङ चढेर पराजित गरेका थिए । सिटौला हराउन लगातार लिङ्देनलाई भोट दिएका एमाले कार्यकर्ता हरि राजवंशी उम्मेदवार बनेपछि यसपटक सूर्य चिन्हमा नै भोट हाल्न मतदाता आतुर देखिएका छन् । एमालेका उम्मेदवार राजवंशीले चुनाव जित्ने प्रमुख पाँच कारण भएको कोशी प्रदेश क्षेत्र नम्बर ३ का एमालेबाट निर्वाचित पूर्व साँसद वसन्त कुमार वानियाले बताए । क्षेत्र नम्बर ३ मा एमालेले तीस वर्षभन्दा यता चुनाव नजितेको ,वाह्रवर्षसम्म उम्मेदवार नपाएको,२७ वर्ष शिक्षण पेशामा रहेको ,देशकै ठुलो सहारा साकोसको अध्यक्ष लगायतका कारणले उम्मेदवार राजवंशीको जित निश्चित हुने उन को दावी छ । यी कारणसँगै शालिन, बेदाग ,आदिवासी उम्मेदवार भएकाले राजवंशीलाई जिताउन पार्टी पङ्क्तिबाट कुनै कसर बाँकी नराख्ने उनले जनाए ।
टिकट वितरणका क्रममा पार्टी अध्यक्ष ओलीले झापा– ३ लाई केही समय ‘होल्ड’ गरेकाले पनि यो आशंका उत्पन्न भएको राजनीति विज्ञ बत्ताउँछन् । एमाले पार्टी इमान्दार भएर लागेको अवस्थामा झापा ३ मा हरिबहादुर राजवंशीले राप्रपा अध्यक्ष लिङ्देनलाई कडा टक्कर दिन सक्ने देखिएको छ ।
राप्रपालाई केही राहत
यसपटक काँङ्ग्रेसका सिटौला उम्मेदवार नबनेपछि राप्रपालाई केही राहत मिलेको छ । ०७९ को स्थानीय तहको चुनावमा कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध काँङ्ग्रेस–एमालेले गठबन्धन गरेका थिए । ०७४ मा अध्यक्ष र उपाध्यक्षसहित कचनकवलमा बहुमत ल्याएको राप्रपालाई ०७९ मा काँङ्ग्रेस–एमाले गठबन्धनले ‘शून्य’को अवस्था बनाएको थियो । त्यो बेलादेखि बिच्किएको राप्रपा एमालेको भोट राप्रपालाइ नआउने राप्रपा नेतृत्वको विश्लेषण छ । हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत, भद्रपुर नगरपालिकामा उपमेयर तथा बाह्रदशी गाउँपालिकामा वडाध्यक्ष जनप्रतिनिधि रहेको यस क्षेत्रमा लिङ्देन प्रतिनिधिसभा तथा निमसरी राजवंशी प्रदेशसभा सदस्य छन् ।
कसको पल्ला भारी
२०७९ मा राप्रपाका लिङ्देन एमालेसँगको गठबन्धनबाट ४० हजार ६६२ मत प्राप्त गरी लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । एक्लै चुनाव लडेका काँङ्ग्रेसका सिटौलाले निकटतम् प्रतिद्वन्द्वी रहँदै त्यतिबेला ३७ हजार ३८६ मत प्राप्त गरेका थिए । आगामी चुनावमा घिमिरे सिटौलाले प्राप्त गरेको ३७ हजार मत सुरक्षित गर्ने दाउमा छन् । घिमिरेको जित–हार सिटौलापक्षको सहयोग–असहयोगमा निर्भर हुने बुझाइ छ ।
विपक्षीखेमा कोही नभएको कार्यकर्ता बन्धु कार्की बत्ताउँछन् । सबै काँङ्ग्रेसहरू एकढिक्का भएर चुनावी अभियानमा जुटिरहेको भद्रपुर वडा नम्बर ५ का निर्वाचित वडाध्यक्ष समेत रहेका कार्कीको भनाइ छ । काँङ्ग्रेसमा परेको भ्वाङ् टाल्नु पर्ने महत्त्वपूर्ण रहेको हुँदा व्यक्तिभन्दापनि काँङ्ग्रेसलाइ जिताउनु पर्ने उनको भनाइ छ ।
झापा ३ मा चारवटा पालिका छन् । भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्छ । एक लाख ४० हजार ८५७ मतदाता रहेको क्षेत्रमा ९ हजार ४०० नयाँ मतदाता थपिएका छन् ।
०७९ मा प्रत्यक्षतर्फ राप्रपाका लिङ्देनले चुनाव जिते पनि समानुपातिकतर्फ भने काँङ्ग्रेस पहिलो पार्टी बनेको थियो । काँङ्ग्रेसले समानुपातिकतर्फ २५ हजार ५सय ३५, राप्रपाले १९ हजार ७ सय ४३ र एमालेले १९ हजार ४ सय ६० मत प्राप्त गरेको थियो । ०७९ मा प्रत्यक्षतर्फ तेस्रो मत प्राप्त गरेको रास्वपाले समानुपातिकतर्फ चौथो मत ७ हजार ८ सय १२ प्राप्त गरेको थियो ।











प्रतिक्रिया