फेक रेस्क्यू काण्डः ६ ट्राभल कम्पनी सञ्चालक पक्राउ, करोडौँ डलर बिमा  ठगीको अनुसन्धान


काठमाडौं ।

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्यूमार्फत बिमा ठगी र पर्यटक ठगीमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरेको छ।

सीआईबी प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार नक्कली रेस्क्यू देखाएर बिमा कम्पनीबाट करोडौँ रुपैयाँ बराबरको अमेरिकी डलर दाबी गर्ने गिरोहविरुद्ध विशेष अनुसन्धानपछि पक्राउ गरिएको हो।

सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएर आजै जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

पक्राउ परेकामध्ये जयराम रिमाल र विवेक पाण्डे ‘माउन्टेन रेस्क्यू सर्भिस प्रालि’, रवीन्द्र अधिकारी र विवेकराज थपलिया ‘नेपाल चार्टर सर्भिस प्रालि’ तथा मुक्ति पाण्डे र सुभाष केसी ‘एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालि’ का सञ्चालक रहेको खुलेको छ।

सीआईबीको अनुसन्धान अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालि ले १ हजार २४८ जनाको रेस्क्यू देखाएकोमा १७१ जनाको फेक रेस्क्यू गरिएको पुष्टि भएको छ। यसमार्फत कम्पनीले १ करोड अमेरिकी डलरभन्दा बढी बिमा दाबी गरेको पाइएको छ।

त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालि ले ४७१ जनाको रेस्क्यू गरेको दाबी गरे पनि ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ। सो कम्पनीले ८२ लाख अमेरिकी डलर बराबरको बिमा दाबी गरेको अनुसन्धानमा देखिएको छ।

त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालि ले ६०१ जनाको रेस्क्यूमध्ये ७१ जनाको शंकास्पद रेस्क्यू गरेको पाइएको छ। कम्पनीले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर बराबरको बिमा रकम माग दाबी गरेको खुलेको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार यो प्रकरणले नेपालको पर्वतीय पर्यटन, उद्धार प्रणाली र अन्तर्राष्ट्रिय बिमा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। घटनामा संलग्न अन्य व्यक्ति, कम्पनी तथा अन्तर्राष्ट्रिय नेटवर्कबारे समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।