टर्किस एयरलाइन्सको इस्तानबुल उडान रनवेबाट फर्काइयो


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उड्न लागेको टर्किस एयरलाइन्सको विमान रनवेबाट फर्काइएको छ ।

उडान नम्बर टीके–७२७ निर्धारित समय १२:३५ बजे उडानका लागि रनवेमा पुगिसकेको थियो । उडानको क्रममा रनवेमा दौडिँदै गर्दा विमानमा प्राविधिक समस्या देखिएको संकेत प्राप्त भएपछि सुरक्षाका कारण उडान तत्काल रोकिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानलाई पुनः पार्किङ क्षेत्रमा फर्काएर प्राविधिक जाँच सुरु गरिएको छ । आवश्यक जाँच पूरा भएपछि विमान उडान भर्ने तयारी गरिने विमानस्थलले जनाएको छ । यात्रु तथा चालकदल सबै सुरक्षित रहेको पनि स्रोतले स्पष्ट पारेको छ ।