काठमाडौँ।
भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा माघ ८ गते भएको झडप र उत्पन्न असहज परिस्थितिको दीर्घकालीन समाधान खोज्न आज गृह मन्त्रालयमा गृहमन्त्री ओम प्रकाश अर्याल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरू तथा उच्च पदस्थ अधिकारीहरूबिच छलफल सम्पन्न भएको छ।
सुधार गृहमा रहेका १८ वर्षमाथिका र कम उमेरका बालबिज्याइँकर्तालाई एकै ठाउँमा राख्दा पटक-पटक समस्या देखिएको समीक्षा गर्दै बैठकमा गृहमन्त्रीज्यूले मानव अधिकारको पूर्ण पालना हुनुपर्ने तर दण्डहीनता भने स्वीकार्य नहुने स्पष्ट पारे। उनले यस्ता घटना भविष्यमा दोहोरिन नदिन र सुधार गृहको व्यवस्थापन चुस्त बनाउन मातहतका सुरक्षा निकाय तथा पदाधिकारीहरूलाई कडा निर्देशन दिएका छन् ।
समस्याको दिगो समाधानका लागि मन्त्रिपरिषद्को निर्णय बमोजिम नुवाकोट कारागारको खाली ब्लकलाई बाल सुधार गृहमा परिणत गरी १८ वर्षमाथिका बालबिज्याइँकर्ताहरूलाई त्यहाँ सार्ने तयारी गरिएको छ। आजको बैठकमा दुवै मन्त्रीज्यूले सम्बन्धित मन्त्रालय र विभागहरूबिच प्रभावकारी समन्वय गरी १८ वर्ष नाघेकाहरूलाई यथाशीघ्र नुवाकोट स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशित गरेका छन्।











प्रतिक्रिया