काठमाडौँ
हुन्डाई मोटर कम्पनीको नयाँ पुस्ताको हुन्डाई पालिसेड ले सन् २०२६ का लागि उत्तर अमेरिकी युटिलिटी भेहिकल अफ द इयर को प्रतिष्ठित उपाधि जितेको छ । उत्तर अमेरिकी कार, युटिलिटी एण्ड ट्रक अफ द इयर (न्याक्टोय) निर्णायक समितिद्वारा प्रदान गरिएको यस सम्मानले प्रिमियम गुणस्तर, उन्नत प्रविधि र पारिवारिक उपयोगितामा हुन्डाईको नेतृत्वलाई पुनः पुष्टि गरेको छ ।
न्याक्टोय पुरस्कार अमेरिका र क्यानडाका ५० जना स्वतन्त्र तथा अग्रणी अटोमोटिभ पत्रकारद्वारा प्रदान गरिन्छ । प्रिन्ट, डिजिटल, टेलिभिजन, रेडियो र सामाजिक सञ्जालका प्रतिनिधित्व गर्ने यी पत्रकारहरूले सवारीसाधनलाई लामो समयको वास्तविक ड्राइभिङ, तुलनात्मक परीक्षण तथा डिजाइन, प्रदर्शन, नवप्रवर्तन, सुरक्षा र मूल्यका आधारमा गहन मूल्याङ्कन गर्छन् ।
हुन्डाईको फ्ल्यागशिप तीन पङ्क्ते एसयुभीका रूपमा रहेको नयाँ पालिसेडले आफ्नो बहुआयामिक पावरट्रेन विकल्पका कारण निर्णायकको ध्यान तानेको हो । यसमा अत्याधुनिक हाइब्रिड संस्करणसँगै प्रमाणित इन्टरनल कम्बस्चन इन्जिन विकल्प उपलब्ध छन् । फराकिलो तथा प्रिमियम इन्टेरियर, प्रयोगमैत्री प्रविधि, र परिवार केन्द्रित सुरक्षा तथा सुविधाजनक विशेषताहरूले पालिसेडलाई प्रतिस्पर्धीभन्दा माथि उभ्याएको छ ।
हुन्डाई मोटर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जोसे मुन्योसले भने, “पालिसेडले हुन्डाईको मूल दर्शन प्रतिनिधित्व गर्छ— आकर्षक डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट सुरक्षा र परिवारका लागि वास्तविक मूल्य। उत्तर अमेरिकाका सम्मानित ५० अटोमोटिभ पत्रकारबाट वर्षकै उत्कृष्ट युटिलिटी भेहिकलको मान्यता पाउनु हाम्रो लागि ठूलो सम्मान हो ।”
नवप्रवर्तन र प्रदर्शनको सन्तुलन
हुन्डाईको विश्वव्यापी एसयुभी पोर्टफोलियोमा पालिसेडको महत्वपूर्ण भूमिका छ । हालै थपिएको नयाँ पुस्ताको हाइब्रिड संस्करणले प्रति ग्यालन ३४ माइलसम्मको माइलेज र ६०० माइलभन्दा बढी दूरी तय गर्ने क्षमता प्रदान गर्छ । यससँगै शक्तिशाली र सहज भी–सिक्स प्राकृतिक इन्जिनले दक्षता र प्रदर्शनबीच सन्तुलन कायम गरेको छ ।
साहसिक यात्राप्रेमीहरूका लागि एक्सआरटी प्रो अफ–रोड ट्रिम थपिएपछि पालिसेडको लाइनअप अझ विस्तार भएको छ । सहज प्रविधि प्रणाली, बहुउपयोगी सिट व्यवस्था र फराकिलो तर व्यवहारिक केबिनका कारण यो आधुनिक परिवारको आवश्यकताअनुसारको सवारी बनेको छ ।
पालिसेडले सन् २०२५ मा अमेरिकामा कीर्तिमानी बिक्रीसमेत हासिल गरेको थियो। खुद्रा बिक्री १७ प्रतिशतले वृद्धि भएको छ भने कुल बिक्री १३ प्रतिशतले बढेको छ । यसले बहुआयामिकता, प्रविधि र परिवार केन्द्रित सुविधायुक्त एसयुभीको बढ्दो मागलाई स्पष्ट पारेको छ ।
न्याक्टोयका अध्यक्ष जेफ गिल्बर्टले भने, “हुन्डाई पालिसेडले २१औँ शताब्दीको पारिवारिक सवारीको परिभाषा दिन्छ। यो फराकिलो, चलाउन रमाइलो र प्रविधिले भरिपूर्ण छ। यो उल्लेखनीय जितका लागि हुन्डाईलाई बधाई।”
सन् १९९४ मा स्थापना भएको न्याक्टोय कुनै एकल सञ्चारमाध्यमसँग आबद्ध नभएको सबैभन्दा पुरानो नयाँ सवारी पुरस्कार कार्यक्रम हो । यसको स्वतन्त्रता, कडा मूल्याङ्कन प्रक्रिया र विविध निर्णायक मण्डलका कारण यो पुरस्कार विश्व अटोमोटिभ उद्योगकै सबैभन्दा विश्वसनीय र प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ ।











प्रतिक्रिया