चिकित्सक संघको निर्वाचन फेरि अन्योलमा: निर्वाचन आयोगको राय पर्खिँदै समिति

अदालती झमेला र राष्ट्रिय निर्वाचनको आचारसंहिताले नयाँ मिति तोक्न बाधा; उम्मेदवारहरू अलपत्र


काठमाडौँ।

नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको निर्वाचन प्रक्रिया फेरि अन्योलमा परेको छ । निर्वाचन समितिले उम्मेदवारहरूको नयाँ नामावली सार्वजनिक गरे पनि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता र अदालती प्रक्रियाका कारण मतदानको मिति टुङ्गो लाग्न सकेको छैन ।

गत सोमवार चिकित्सक र उम्मेदवारहरूबिच भएको सर्वपक्षीय छलफलमा उपत्यका बाहिर माघ १५ र १६ गते तथा काठमाडौँ उपत्यकामा माघ २९ गतेदेखि तीन दिनसम्म मतदान गर्ने सहमति नजिक पुगेको थियो । तर, सोही दिनदेखि लागू भएको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताले निर्वाचन समितिलाई पुनः अलमलमा पारेको छ ।

निर्वाचन आयोगको राय मुख्य निर्वाचन समिति संयोजक डा. प्रणयरत्न शाक्यका अनुसार अहिलेको मुख्य गाँठो निर्वाचन आचारसंहिता बनेको छ । “बिचमा अदालती मुद्दाका कारण हामीले पुरानो मितिमा निर्वाचन गर्न सकेनौँ,” डा. शाक्यले भने, “अहिले देशभर निर्वाचन आचारसंहिता लागू भइसकेको छ । यस्तो अवस्थामा चिकित्सक संघको निर्वाचन अघि बढाउन मिल्छ कि मिल्दैन भन्नेबारे हामीले मंगलबार निर्वाचन आयोगमा पत्राचार गरेका छौँ ।” आयोगले दिने रायका आधारमा मात्रै नयाँ मिति तय हुने उनले स्पष्ट पारे ।

अदालती प्रक्रिया अझै बाँकी निर्वाचनको बाटो खुल्न निर्वाचन आयोग मात्र नभई उच्च अदालत पाटनको फैसला पनि निर्णायक हुने देखिएको छ । मंगलबारका लागि तय गरिएको पेशी स्थगित भएपछि अदालती झन्झट अझै केही समय लम्बिने संकेत देखिएको छ । यद्यपि, डा. शाक्यले अदालतको अघिल्लो निर्देशन बमोजिम रोकिएका सबै उम्मेदवारको नामावली कायम गरिसकिएकाले अब कानुनी रूपमा ठुलो समस्या नहुने दाबी गरे ।

उम्मेदवारहरूमा असन्तुष्टि र चिन्ता निर्वाचनको मिति पटक-पटक सर्दा र अन्योल बढ्दा चुनावी मैदानमा रहेका उम्मेदवारहरू भने मारमा परेका छन् । ‘टिम बद्री’ को नेतृत्व गरिरहेका डा. बद्री रिजालले राष्ट्रिय निर्वाचनले सबैको ध्यान खिचिरहेको बेला संघको निर्वाचन के हुन्छ भन्नेमा आफूहरू ढुक्क हुन नसकेको बताए । उनले प्रतिनिधिसभा निर्वाचन अघि नै संघको चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

त्यसै गरी ‘टिम मंगल’ का नेतृत्वकर्ता डा. मंगल रावलले पनि निर्वाचनको गाँठो फुकाउन आफूहरू नै निर्वाचन आयोगसँग छलफल गर्ने योजनामा रहेको जानकारी दिए । “हामी पनि आयोगमा गएर चुनावको वातावरण बनाउन पहल गर्छौँ,” डा. रावलले भने ।

किन भयो ढिलाइ? सुरुमा निर्वाचन समितिले केही चिकित्सकको उम्मेदवारी खारेज गरेपछि विवाद सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालय र उच्च अदालतको आदेशलाई समेत समितिले सुरुमा अटेरी गरेको आरोप सरोकारवाला चिकित्सकहरूको छ । हाल १७ हजार भन्दा बढी चिकित्सक मतदाता रहेको यस संघमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुसालको समूह चुनावी प्रतिस्पर्धामा छन् ।

आयोगको जवाफ र अदालतको अर्को पेशीले नै अबको निर्वाचनको भविष्य तय गर्ने देखिएको छ ।