बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत, निर्माणको बाटो खुल्यो


काठमाडौं ।

सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत गरेसँगै वर्षौँदेखि अल्झिएको आयोजना निर्माणतर्फ अघि बढ्ने भएको छ । २ माघको मन्त्रिपरिषद् बैठकले १२०० मेगावाट क्षमताको आयोजनाको वित्तीय ढाँचा स्वीकृत गरेको हो । आयोजनाको कुल लागत करिब ४ खर्ब ६ अर्ब रुपैयाँ रहनेछ ।

७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजीको संरचनामा आयोजना निर्माण गरिनेछ । प्रवर्द्धक बुढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत सेयर रहनेछ । ८ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।

धादिङ र गोरखामा निर्माण हुने यो आयोजना ऊर्जा सुरक्षाका दृष्टिले रणनीतिक मानिएको छ । लगानी मोडालिटी स्वीकृत भएसँगै अब वित्तीय व्यवस्थापन र टेन्डर प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।