निर्वाचनका लागि १ करोड २ लाख ३० हजार मतपत्र छापियो


काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ ५० प्रतिशत सम्पन्न भएको छ। मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरिसकेको जनाएको छ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्र १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो। निर्वाचन आयोगले समानुपातिकतर्फ कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ।

यस्तै, केन्द्रले आयोगलाई हालसम्म १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ। पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्र प्याकिङ गरिएको छ भने हालसम्म सात हजार ८४१ बाकस प्याकिङ सम्पन्न भइसकेको छ। १२ हजार ९८९ बाकस प्याकिङ गर्न बाँकी रहेको केन्द्रले जनाएको छ।

प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानपछि मात्रै छपाइ सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ।