निर्वाचनको केन्द्रविन्दुमा झापा–५

पुरानो शक्ति र नयाँ आकांक्षाबीच भिडन्त

752
Shares

भद्रपुर ।

स्थानीय सरकारको नेतृत्व छोडेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) र दशकौंदेखि सत्ता सम्हाल्दै आएका परिचित पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीबीच झापा निर्वाचन क्षेत्र नं. ५ यो पटक निर्वाचनको केन्द्रविन्दुमा पर्ने देखिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सिट जित्ने–हार्नेभन्दा पनि पुरानो शक्ति र नयाँ आकांक्षाबीचको भिडन्त हुने निश्चित भएको छ । नेपालको राजनीति अब नयाँ पुस्ताले सम्हाल्ने कि पुरानै पुस्ताको हातमा रहने यो प्रश्नको उत्तर आसन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले मात्रै दिनेछ ।

तीन वर्षअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयर बन्नुभएका बालेन परम्परागत दल–राजनीतिलाई चुनौती दिने अनुहार बन्नुभयो । राजनीतिक यात्राको पहिलो चरणमा बालेनले गृह प्रदेश मधेसलाई प्राथमिकतामा राख्नुभयो ।
पहिलो सम्बोधन जनकपुरपछि बालेन सडकमार्ग हुँदै ५ गते झापा आउनुहुनेछ । माघ ६ गते झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्ने तयारीमा हुनुहुन्छ । यो निर्वाचन क्षेत्रले विशेष अर्थ राख्छ । किनभने यही क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली २०४८ सालदेखि प्रतिनिधित्व गर्दै आइरहनुभएको छ ।

जसको राजनीतिक पकड बलियो छ भने बालेनको झापा–५ बाट उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा होइन, यो परम्परागत शक्तिकेन्द्रमाथिको सीधा चुनौतीको रूपमा हेरिँदै छ ।

यसपालि नयाँलाई मौका दिन मन भएको जेन–जी समूहका रूपेश अधिकारीले बताउनुभयो । भदौ २३ को आन्दोलनले पनि युवाको नेतृत्व नै चाहेको हुँदा पार्टीभन्दा पनि युवा र काम गर्नसक्ने उम्मेदवारलाई मत दिनुपर्ने उहाँको भनाइ छ । प्रत्येक परिवारभित्रै अहिले मत विभाजन देखिएको अर्का मतदाता उमेश मण्डल बताउनुहुन्छ । ‘कसैले भन्छन् ओली ‘बा’ नै चाहिन्छ । कसैले भन्छन् अब परिवर्तन हुनैपर्छ’ – उहाँको भनाइ छ । दमकमा सडक, भ्युटावर, योजना ल्याउने नेता ओलीबाहेक कोही छैन भन्ने भनाइ ओली समर्थकहरूको छ । तर, आलोचकहरूको भनाइ पनि कम छैन, अर्बौंको लगानीमा १८ तले दमक भ्युटावर अहिलेसम्म पूर्ण सञ्चालनमा नआएको, नेपाल–चीन औद्योगिक पार्क शिलान्यास भयो, काम अघि बढेन । रंगशाला, सभागृह, नमुना सहर धेरै सपना तर सबै अधुरा र उपयोगविहीन भएका कारण ओलीको विकल्प खोज्ने यो अवसर भएको उहाँहरूको भनाइ छ ।

ओली झापा–५ मा २०४८ देखि २०७९ सम्म छपटक निर्वाचित भइसक्नुभएको छ । २०७९ मा २८ हजारभन्दा बढी मतान्तरले जित्नुभएको थियो । साह झापा–५ को स्थानीय नभए पनि ‘जेन–जी’ का लागि भूगोलभन्दा ठूलो नाम बनेको छ । काठमाडौंमा मेयर बनेपछि उहाँले देखाएको शैली कडा, छरितो, परम्परागत राजनीतिभन्दा फरक युवालाई आकर्षित जेन–जी आन्दोलनपछि युवाको एउटा धारणा बलियो हुँदै गएको उहाँहरूको भनाइ छ ।

बालेनले झापामा एक सम्पर्क कार्यालय र आफ्नो सचिवालयसहितको अर्को कार्यालय सञ्चालन गर्ने तयारी गरिसकेको पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष प्रकाश पाठकले जानकारी दिनुभयो । दमक नगरपालिका, कमल गाउँपालिका गौरादह नगरपालिका १ देखि ८ वडा र गौरीगञ्ज गाउँपालिका ३ देखि ६ नम्बर वडा मिलेर क्षेत्र नम्बर ५ बनेको छ ।

झापा–५ मा कुल मतदाता १ लाख ६३ हजार छन् जसमा नयाँ मतदाता करिब १० हजार छन् । यही समूह निर्णायक बन्न सक्छ । गत निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ १८ हजारभन्दा बढी मत पाएको थियो । अब त्यो मतमा बालेनको व्यक्तिगत ब्रान्ड थपिँदा सन्तुलन बदलिने देखिन्छ । झापा–५ मा रहेको कुल मतदाता १ लाख ६३ हजारमध्ये करिब ७० प्रतिशत अर्थात् १ लाख १४ हजार १ सय मत खस्न सक्छ । जसमा करिब ३ प्रतिशत मत बदर हुन सक्छ । अब बाँकी रह्यो १ लाख १० हजार ६ सय ७७ मत । जसमध्ये एमाले, कांग्रेस, राप्रपा, श्रम संस्कृति पार्टी, नेपाली कम्युनिस्ट र राष्ट्रिय स्वतन्त्र पार्टीमा बाँडिन्छ । यो हिसाबले ३० देखि ३५ हजार मत ल्याउने उम्मेदवारले चुनाव जित्ने निश्चित छ ।

यो हिसाबलाई हेर्दा अघिल्लो निर्वाचनमा रास्वपाले समानुपातिक मत १८ हजारभन्दा बढी प्राप्त गरेको थियो । जसमा नवयुवा मतदाता १० हजार थपिएका छन् जो बालेनको पक्षमा रहने अवस्था छँदै छ । तर, यो प्रतिस्पर्धा केवल ओली र बालेनबीचको होइन । श्रम संस्कृति पार्टी, हर्क साम्पाङको छाया, आदिवासी जनजाति मत र सम्भावित एमाले–राप्रपा तालमेल सबैले समीकरण जटिल बनाउँछन् । हर्क साम्पाङले खुलेआम ओली र बालेन दुवैलाई हराउँछौं भन्ने भाषणका कारण यसले वैकल्पिक मतलाई विभाजन गर्ने सम्भावना पनि बढाएको छ ।