काठमाडौँ
नवलपुर जिल्लाको देवचुली नगरपालिकामा छैटौँ देवचुली महोत्सव आयोजना भएको छ । पुस २५ गतेबाट सञ्चालन भएको महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कला, संस्कृति, पर्यटन तथा धार्मिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको आकर्षक प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवमा चर्चित गायक प्रकाश दुतराज, जुनल गिरीलगायतका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ । त्यसैगरी मोडल तथा नृत्य कलाकार कबिता नेपाली, सविना खड्कालगायतको विशेष नृत्य प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।
स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूको सहभागिताले महोत्सवलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ । साथै महोत्सव अवधिभर विभिन्न सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार तथा व्यवसायिक स्टलहरू सञ्चालन गरिने जनाइएको छ ।
आयोजकका अनुसार देवचूली महोत्सवले स्थानीय पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि बढाउने र युवा पुस्तालाई संस्कृति संरक्षणतर्फ आकर्षित गर्ने लक्ष्य लिएको छ । महोत्सवमा जिल्लाभित्र तथा बाहिरका दर्शकहरूको उल्लेख्य सहभागिता रहने विश्वास लिइएको छ ।
महोत्सव सफल बनाउन स्थानीय तह, सामाजिक संघसंस्था, व्यवसायी तथा सर्वसाधारणको सक्रिय सहयोग आवश्यक रहेको आयोजक समितिले आग्रह गरेको छ ।











प्रतिक्रिया