काठमाडौं ।
आईसीसी टी–२० महिला विश्वकप ग्लोबल क्वालिफायरमा नेपालसहित १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । यो आईसीसीको ठूलो प्रतियोगिता नेपालमै आयोजना हुँदैछ । नेपालका त्रिवि रंगशाला र मूलपानी मैदानमा खेलहरू संचालन गरिनेछ ।
नेपालकै भुमिमा हुने हुँदा यस ग्लोबल क्वालिफायरमा नेपाललाई फाइदा हुने संभावना छ । नेपालले आज हुने पहिलो खेलमा थाइल्यान्डसँग भिड्दैछ । नेपालको यो पहिलो ग्लोबल क्वालिफायर प्रतियोगिता हो । पहिलो प्रयासमै नेपाली टोली विश्वकपमा पुग्ने लक्ष्यमा रहेको छ ।
यस ग्लोबल छनोटमा रहेका १० टोेलीलाई ५–५ टोली गरी दुई समूहमा विभाजित गरिएको छ । जसमा, समूह ए मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुआ न्युगिनी र अमेरिका रहेका छन् । यस्तै, समूह बी मा आयोजक नेपाल परेको छ । नेपालले थाइल्यान्ड, स्कटल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रत्येक समूहका शीर्ष तीन गरी ६ टोलीहरू सुपर सिक्समा छनोट हुनेछ । यसमा एकै समूहका टोलीले खेल्नु पर्दैन । एक समूहको टोलीहरूले अर्को समूहका टोलीहरूसँग खेल्ने प्रावधान रहेको छ । यही सुपर सिक्समा शीर्ष चार हुने टोलीहरू इङ्ल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकपमा छनोट हुनेछ ।
नेपालका प्रतिद्वन्द्वीहरू
नेपाल र थाइल्यान्ड एसिया क्षेत्रको छनोटमा फाइनल पुगेर ग्लोबल क्वालिफायर खेल्न छनोट भएका हुन् । एसिया छनोटमा नेपाल फाइनलमा थाइल्यान्डसँग पराजित भएको थियो । थाइल्यान्ड फेरि एकपटक नेपालकै समूहमा छ । यसैले नेपालको लागि थाइल्यान्ड तगारो बन्न सक्नेछ । थाइल्यान्डले एक पटक विश्वकप खेलिसकेको छ । थाइल्यान्डले २०२० को टी २० महिला विश्वकप खेलेको थियो ।
अर्को टोली रहेको छ अमेरिका । अमेरिकालाई नेपालले वार्मअप खेलमा हराइसकेको छ । अमेरिका अहिलेसम्म विश्वकपमा पुगेको पनि छैन । नेपालको अर्को प्रतिद्वन्द्वी टोली पपुआ न्युगिनी हो । यो टोली पनि अहिलेसम्म विश्वकपमा पुग्न सकेको छैन ।
नेपालको लागि स्कटल्यान्ड पनि तगारो बन्ने देखिन्छ ।
स्कटल्यान्डले गत टी २० महिला विश्वकपमा सहभागिता जनाएको थियो । यो स्कट टोलीको पहिलो विश्वकप पनि थियो । यस्तै, नेपालले प्रतिस्पर्धा गर्नु पर्ने अर्को टोली नेदरल्यान्ड्सले विश्वकपमा खेल्न पाएको छैन । नेदरल्यान्ड्स हालसम्म ५ पटक ग्लोबल क्वालिफायर खेलेपनि विश्वकपमा पुग्न नसेकेको टोली हो ।
नेपालको अर्को प्रतिद्वन्द्वी टोली जिम्बावे भने ११ वर्षपछि ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्दै छ । टोलीले यसअघि सन् २०१३ र २०१५ को छनोटमा सहभागिता जनाएको थियो । जिम्बावेले हालसम्म विश्वकपमा स्थान बनाउन भने सकेको छैन ।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, विन्दु रावल, काजल श्रेष्ठ, कविता कुँवर, रचना चौधरी, मनिषा उपाध्याय, कविता जोशी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी ।











प्रतिक्रिया