काठमाडौँ
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको चिकित्सक टोलीले फेरि एक जना बिरामीमा सफल कलेजो प्रत्यारोपण गरेको छ । दुई साता अघि भक्तपुरका ५४ वर्षीय एक पुरुषमा उनकै २२ वर्षीय छोराबाट कलेजोको अंश झिकेर प्रत्यारोपण गरिएको हो । प्रत्यारोपणपछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेकाले शनिवार डिस्चार्ज गरियो ।
कलेजो प्रत्यारोपण शल्यक्रियाका प्रमुख सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीका अनुसार कलेजो दान गर्ने छोरा केही दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। “अंग दान गर्ने छोराको अवस्था राम्रो छ। अंग ग्रहण गर्ने बाबु पनि पूर्ण रूपमा सुधारोन्मुख भएकाले आज डिस्चार्ज हुँदैछन्,” डा. भण्डारीले बताए।
यस सफलतासँगै टिचिङ अस्पतालले कलेजो प्रत्यारोपणमा पूर्ण आत्मनिर्भरता हासिल गरेको दाबी गरेको छ । प्रारम्भिक चरणमा विदेशी विशेषज्ञको सहयोग लिँदै आएको अस्पतालले नवौँ प्रत्यारोपणसम्म अन्तर्राष्ट्रिय टोलीसँग सहकार्य गरेको थियो । तर दशौँ प्रत्यारोपणदेखि भने सम्पूर्ण प्रक्रिया नेपाली चिकित्सक, एनेस्थेसियोलोजिस्ट, नर्स र प्राविधिक टोलीले आफैँ सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।
“सन् २०२४ जनवरी १२ देखि हामी टिचिङकै चिकित्सकीय टोलीले मात्रै कलेजो प्रत्यारोपण गर्न थालेका हौँ । त्यसयता अहिलेसम्म १३ वटा प्रत्यारोपण पूर्ण रूपमा स्वदेशी टोलीले सफलतापूर्वक गरिसकेको छ,” टोली प्रमुख डा. भण्डारीले भने । उनका अनुसार यो उपलब्धिले नेपालमा जटिल अंग प्रत्यारोपण सेवाको स्तर अन्तर्राष्ट्रिय मापदण्ड नजिक पुगेको प्रमाणित गर्छ ।
त्रिवि शिक्षण अस्पतालमा हालसम्म कुल २२ वटा कलेजो प्रत्यारोपण भइसकेका छन्। “बीचबीचमा प्रत्यारोपण निरन्तर भइरहेकै थियो । हामीले धेरै प्रचार नगरेका कारण कतिपय बिरामीमा सेवा नै बन्द भयो कि भन्ने भ्रम पनि हुनसक्छ भनेर आज औपचारिक जानकारी गराएका हौँ,” डा. भण्डारीले स्पष्ट पारे ।
नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको करिब एक दशक पूरा भइसकेको छ । सुरुआती चरणमा सीमित पूर्वाधार, दक्ष जनशक्ति र अत्यधिक खर्चका कारण कलेजो प्रत्यारोपण सामान्य नेपालीका लागि पहुँचभन्दा बाहिर थियो । धेरै बिरामी उपचारका लागि भारत, चीन वा अन्य देश जान बाध्य थिए, जसले आर्थिक र सामाजिक दुवै भार बढाएको थियो ।
तर पछिल्ला वर्षमा टिचिङ अस्पतालको नेतृत्वमा स्वदेशमै कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै गएको छ । यसले उपचार खर्च उल्लेखनीय रूपमा घटाउनुका साथै बिरामी र परिवारलाई विदेश जानुपर्ने बाध्यता हटाएको छ । चिकित्सकहरूका अनुसार स्वदेशमै सेवा उपलब्ध हुँदा शल्यक्रियापछिको दीर्घकालीन फलोअप, औषधि व्यवस्थापन र जटिलता नियन्त्रण पनि सहज बनेको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले टिचिङ अस्पतालको यो उपलब्धिलाई राष्ट्रिय स्वास्थ्य प्रणालीका लागि ऐतिहासिक मोडको रूपमा लिएका छन्। । जटिल शल्यक्रियामा आत्मनिर्भरता बढ्नुले अंग प्रत्यारोपणलाई संस्थागत सेवा बनाउने आधार तयार गरेको उनीहरूको भनाइ छ ।
यद्यपि कलेजो प्रत्यारोपणलाई अझै व्यापक र सर्वसुलभ बनाउन सरकारी सहयोग, बीमा प्रणालीको प्रभावकारी कार्यान्वयन र दाता–ग्राही दर्ता प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइन्छ । विशेषज्ञहरूका अनुसार कलेजो प्रत्यारोपण नेपालीहरूका लागि अझ सहज, सुरक्षित र दिगो बनाउनु अब राज्यको प्रमुख स्वास्थ्य प्राथमिकतामा पर्नुपर्छ । टिचिङ अस्पतालको पछिल्लो सफलताले नेपालमा कलेजो प्रत्यारोपण सम्भव छ मात्र होइन, नेपाली चिकित्सक आफैँले विश्वस्तरीय सेवा दिन सक्छन भन्ने आत्मविश्वास थप बलियो बनाएको छ ।











प्रतिक्रिया