काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर–२०२६’ सम्पन्न


काठमाडौं ।

नेपालका विद्यार्थीलाई बंगलादेशमा चिकित्साशिक्षाको अवसरबारे जानकारी गराउने उद्देश्यले काठमाडौंस्थित बंगलादेश दूतावास र बंगलादेश प्राइभेट मेडिकल कलेज एसोसिएसन (बीपीएमसीए) को सहकार्यमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर–२०२६’ सम्पन्न भएको छ।

मेलामा बंगलादेशका २० वटा निजी मेडिकल कलेजले सहभागिता जनाउँदै नेपाली विद्यार्थी र अभिभावकलाई बंगलादेशमा एमबीबीएस तथा अन्य चिकित्साशिक्षाका अवसरबारे विस्तृत जानकारी दिएका थिए। मेलाको उद्घाटन सत्रमा नेपालका लागि बंगलादेशका राजदूतले नेपाल–बंगलादेशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध उल्लेख गर्दै शिक्षाक्षेत्र, विशेषगरी चिकित्साशिक्षामा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको बताए।

उनले गुणस्तरीय शिक्षा, व्यापक क्लिनिकल प्रशिक्षण, सस्तो शुल्क, आधुनिक प्रविधियुक्त मेडिकल सुविधा र अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्रीका कारण बंगलादेश अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विश्वासिलो गन्तव्य बनेको बताए। राजदूतका अनुसार बंगलादेशको पाठ्यक्रम र परीक्षा प्रणाली क्यानाडेली मोडलमा आधारित रहेकाले दक्षिण एशियामै उत्कृष्ट मानिन्छ। भाषा र सामाजिक परिवेशमा समानता भएकाले नेपाली विद्यार्थीलाई बंगलादेशमा पढ्दा सहज हुने उनले बताए।

बंगलादेशमा अध्ययन गरेका धेरै नेपाली चिकित्सकले नेपालकै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेकाे उल्लेख गर्दै विशेषगरी बंगलादेशका स्नातकोत्तर चिकित्सकहरूको गुणस्तर विश्वभर प्रशंसित रहेको उनले बताए। कार्यक्रममा बीपीएमसीएका महासचिवले बंगलादेशको चिकित्साशिक्षा प्रणालीबारे विस्तृत प्रस्तुति दिँदै शैक्षिक मापदण्ड, पाठ्यक्रम संरचना, क्लिनिकल अभ्यास र विद्यार्थी सहायता सेवाबारे जानकारी गराए।

बीपीएमसीएका पूर्व अध्यक्षले पनि संघसंस्थाको भूमिकाबारे प्रकाश पार्दै अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य प्रवर्द्धनमा जोड दिए। मेलाले विद्यार्थी र अभिभावकलाई कलेज प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्रदान गरेको थियो। सहभागीले भर्ना प्रक्रिया, योग्यता, शैक्षिक कार्यक्रम, शुल्क, छात्रवृत्ति, आवास सुविधा तथा बंगलादेशको विद्यार्थी जीवनबारे प्रत्यक्ष जानकारी पाए। मेलामा ५०० भन्दा बढी नेपाली विद्यार्थीले सहभागिता जनाएका थिए।

शैक्षिक समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको यस मेलालाई समयसापेक्ष र उपयोगी पहलका रूपमा प्रशंसा गरिएको छ। यसैबीच बीपीएमसीएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा नेपाल मेडिकल काउन्सिल (एनएमसी) का कार्यवाहक अध्यक्ष डा. विकास देवकोटासँग पनि भेटघाट गरेको छ।