देउवाबाट टाढिँदै शेखर कोइराला, कांग्रेसभित्र नयाँ शक्ति सन्तुलनको संकेत


काठमाडौं ।

नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णयपछि पार्टीभित्रको शक्ति सन्तुलन तीव्र रूपमा फेरिन थालेको छ।

आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्ष आक्रामक आन्दोलनको तयारीमा जुटेको छ भने, देउवासँगै उभिँदै आएका नेता शेखर कोइरालाको धारणा क्रमशः लचक बन्दै गएको देखिएको छ।

निर्वाचन आयोगको निर्णय नआउँदासम्म देउवाको साथमा रहेका शेखर कोइरालाले अब देउवालाई दिँदै आएको बलियो साथ फितलो बनाउँदै लगेका संकेत देखिएका छन्। देउवा पक्षले आज आफ्नै पक्षका केन्द्रीय सदस्यहरूको बैठक बोलाएका बेला शेखर भने आफ्नो समूहको छुट्टै भेला बसिरहेका छन्।

शेखर पक्षको भेला जारी रहेको स्रोतले जनाएको छ। भेलास्थल भने गोप्य राखिएको छ। देउवा पक्षले आयोगको निर्णयविरुद्ध सडक आन्दोलन र अदालत जाने घोषणा गरिसकेको अवस्थामा शेखर पक्ष भने तत्काल आन्दोलनमा उत्रिने मनस्थितिमा नरहेको बुझिएको छ।

स्रोतका अनुसार शेखर कोइराला समूहभित्र आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई नै आधिकारिक मानेर अगाडि बढ्ने विषयमा लचकता देखाउनेबारे छलफल भइरहेको छ। पार्टीभित्र थप टकरावभन्दा संस्थागत स्थिरतालाई प्राथमिकता दिनुपर्ने धारणा शेखर समूहमा बलियो बन्दै गएको बताइन्छ।

उता, आयोगबाट मान्यता प्राप्त गगन थापा नेतृत्वको केन्द्रीय समितिले पनि आजै बानेश्वरमा बैठक बोलाएको छ। एकै दिन तीन धारका बैठक बस्नुले नेपाली कांग्रेसभित्रको राजनीतिक तरलता अझै बढेको स्पष्ट संकेत दिएको छ।

शेखर कोइरालाको सम्भावित दूरीले देउवा पक्ष थप कमजोर हुने र गगन थापा पक्षलाई नैतिक तथा राजनीतिक बल पुग्ने विश्लेषण हुन थालेको छ। कांग्रेसभित्रको यो बदलिँदो समीकरणले आगामी दिनमा पार्टीको नेतृत्व संरचना र आन्तरिक राजनीतिलाई निर्णायक मोडमा पुर्‍याउने देखिन्छ।