गगन थापा पक्षलाई आयोगको मान्यता, चुनाव चिह्न रुख र चारतारे झण्डा पनि उनकै


काठमाडौँ।

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई वैधानिक मान्यता दिने निर्णय गरेको हो।

पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। उक्त महाधिवेशनका निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।

यसैबीच, पूर्णबहादुर खड्का पक्षका नेताहरूले भने शुक्रबार बिहान आयोगमा छुट्टै निवेदन दर्ता गर्दै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए। दुवै पक्षको दाबी आएपछि आयोगले सम्बन्धित नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा उपस्थित गराएको थियो।

सबै प्रक्रिया पूरा गरेपछि आयोगले गगन थापा नेतृत्वको पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएको हो। आयोगको निर्णयसँगै अब कांग्रेसको चुनाव चिह्न रुख तथा चारतारे झण्डा पनि गगन थापा पक्षकै रहने भएको छ।