निर्वाचन आयोग अगाडि तनाव, गगन–देउवा पक्षबीच नाराबाजी


काठमाडौँ।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर निर्वाचन आयोग परिसर बाहिर तनावपूर्ण अवस्था सिर्जना भएको छ। गगनकुमार थापा र शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले आयोगको गेटअगाडि छुट्टाछुट्टै समूह बनाएर नाराबाजी गरिरहेका छन्।

पुस २७ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो। तर, उक्त निर्णयप्रति असहमति जनाउँदै दुवै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै निर्वाचन आयोगमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन्।

आयोगले आधिकारिक निर्णय सार्वजनिक गर्नुअघि नै दुवै पक्ष आयोग बाहिर उपस्थित भई शक्ति प्रदर्शनमा उत्रिएका हुन्। सम्भावित झडप हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने दुवै समूहको बीचमा सुरक्षा घेरा बनाइएको छ।

देउवा पक्षका कार्यकर्ताले ‘शेरबहादुर देउवा जिन्दावाद’ र ‘विशेष भेला मान्दैनौँ’ जस्ता नारा लगाइरहेका छन्। यता, गगन पक्षले ‘सानेपा खाली गर, गगन थापा आउँदैछन्’ भन्दै नाराबाजी गरिरहेको छ।

स्थिति थप जटिल बन्न सक्ने आँकलनसहित प्रहरीले वाटर क्याननसहित तयारी अवस्थामा सुरक्षा व्यवस्था कडा पारेको छ। नाराबाजीका कारण सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ भने सुरक्षा सतर्कता अझै बढाइएको प्रहरीले जनाएको छ।