आईओएमको सहायक डीनमा प्राध्यापक अधिकारी नियुक्त 

1.41k
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को सहायक डीन पदमा प्राध्यापक तुलसी अधिकारी नियुक्त भएकी छन । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले प्राध्यापक अधिकारीलाई चार वर्षे कार्यकालका लागि सहायक डीन पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आईओएम अन्तर्गत तीन जना सहायक डीन रहने व्यवस्था अनुसार यसअघि नै प्राध्यापक डा. अभिमन्यु झा र प्राध्यापक डा. सन्तकुमार दास सहायक डीनका रूपमा कार्यरत छन् । नयाँ नियुक्तिसँगै आईओएमको सहायक डीन टोली पूर्ण भएको छ ।

नर्सिङ विषयकी वरिष्ठ प्राध्यापक अधिकारी यसअघि महाराजगञ्ज नर्सिङ क्याम्पसमा कार्यरत रहँदै आएकी थिइन् । शैक्षिक प्रशासन, नर्सिङ शिक्षा र स्वास्थ्य जनशक्ति विकासमा लामो अनुभवसगालेकी अधिकारीलाई आईओएमको शैक्षिक तथा प्रशासनिक नेतृत्वमा महत्त्वपूर्ण जिम्मेवारी थपिएको छ ।

सहायक डीन पदका लागि आईओएमले यसअघि खुला प्रतिस्पर्धा प्रक्रिया अघि बढाएको थियो । सो प्रक्रियामा पाँच जनाले आवेदन दिएका थिए । छनौट समितिले योग्यता, अनुभव, शैक्षिक योगदान तथा नेतृत्व क्षमताका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका तीन उम्मेदवारमध्येबाट कार्यकारी परिषद्ले प्राध्यापक अधिकारीलाई सहायक डीनमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राध्यापक तुलसी अधिकारीको नर्सिङ शिक्षामा लामो योगदान रहँदै आएको छ । उनी नर्सिङ पाठ्यक्रम विकास, स्वास्थ्य जनशक्ति उत्पादन, तालिम तथा अनुसन्धानमा सक्रिय रहँदै आएकी थिइन् । महाराजगञ्ज नर्सिङ क्याम्पसमा रहँदा उनले शैक्षिक गुणस्तर सुधार, विद्यार्थी–केन्द्रित शिक्षण प्रणाली र संस्थागत व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । नर्सिङ पेशाको व्यावसायिक उन्नयन र स्वास्थ्य प्रणालीमा नर्सिङको भूमिकालाई मजबुत बनाउन उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा समेत योगदान दिएकी छन् । 

आईओएम त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपालको अग्रणी चिकित्साशास्त्र अध्ययन संस्था हो । चिकित्सा, नर्सिङ, जनस्वास्थ्य, फार्मेसी तथा अन्य स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्च शिक्षा, अनुसन्धान र सेवा प्रदान गर्दै आएको आईओएमको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा सहायक डीनको भूमिका महत्त्वपूर्ण मानिन्छ । सहायक डीनले शैक्षिक कार्यक्रम सञ्चालन, विद्यार्थी व्यवस्थापन, परीक्षा प्रणाली, अनुसन्धान समन्वय तथा नीतिगत निर्णय कार्यान्वयनमा डीनलाई सहयोग गर्ने जिम्मेवारी वहन गर्छन् ।

नयाँ जिम्मेवारीसँगै प्राध्यापक अधिकारीले आईओएमको शैक्षिक गुणस्तर अभिवृद्धि, नर्सिङ तथा स्वास्थ्य शिक्षा क्षेत्रको सुदृढीकरण र संस्थागत सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भगवती तिमल्सिना