सेन्ट्रल फाइनान्सको २९औं साधारण सभा सम्पन्न


काठमाडौँ

सेन्ट्रल फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले विगत २९ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्सले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, महोत्तरी, नवलपरासी, बारा, सिन्धुली, सर्लाही, धनुषा, सुनसरी, झापा, पर्सा, मोरङ र रौतहटलगायत स्थानमा गरी हाल १९ शाखा तथा भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, रेमिट्यान्स, सी–आस्वालगायतका आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै लैजाने लक्ष्य लिएको संस्थाले जनाएको छ ।

ग्राहकका बैंक खाता, वालेट तथा क्यूआरमार्फत हुने विद्युतीय रकमान्तर र भुक्तानीलाई सहज बनाउन आवश्यक पूर्वाधार तयार गरिएको र विभिन्न शाखामा एटीएम सेवा पनि सञ्चालनमा रहेको संस्थाले जानकारी दिएको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाको कुल निक्षेप ८ अर्ब २८ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।